नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घटाए पनि पेट्रोलको मूल्य यथावत राखेको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले अघिल्लो पटकको मूल्यभन्दा डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि निगमले प्रतिलिटर १० रुपैयाँ घटाएको हो ।
आईओसीले पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा घटाएर पठाएको थियो । तर, भारत र नेपालबीचको मूल्यान्तरलाई कारण देखाउँदै निगम सञ्चालक समितिले पेट्रोलको मूल्य यथावत राख्ने निर्णय गरेको छ ।
नयाँ खुद्रा बिक्री मूल्य मंगलबार राति १२ बजेदेखी लागु हुने छ । डिजेलको मूल्य घटेपश्चात खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ पर्नेछ । मट्टीतेल पनि १ सय ५५ रुपैयाँ पर्ने निगमले जनाएको छ । पेट्रोलको मूल्य यथावत राख्दा प्रतिलिटर १७५ रुपैयाँ नै पर्ने भएको छ
