काठमाडौं । भारतका विभिन्न स्थानमा बेचबिखन तथा तस्करीको जोखिममा परेका सात जना नेपाली महिला तथा बालबालिकाको उद्धार गरी परिवारसँग पुनर्मिलन गराइएको छ।
किन इन्डियाको पहल तथा विभिन्न सरकारी निकाय र सामाजिक संस्थाहरूको समन्वयमा तीन बालिका, दुई बालक र एक महिलासहित सात जनाको उद्धार गरिएको हो।
उद्धार गरिएकामध्ये दुई बालिकालाई सर्लाही, एक बालक र एक महिलालाई धनुषास्थित जिल्ला प्रहरी कार्यालयमार्फत परिवारको जिम्मा लगाइएको छ।
त्यस्तै, दुई बालबालिकालाई विराटनगरस्थित कोशी प्रदेश बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) मार्फत परिवारसँग पुनर्मिलन गराइएको छ। यसैक्रममा दुई महिनाअघि विराटनगरबाट हराएका एक बालक र एक बालिकालाई भारतको मुम्बईबाट उद्धार गरी नेपाल ल्याइएको थियो।
किन इन्डिया र शुभअवसर ग्रामको समन्वयमा उद्धार गरिएका उनीहरूलाई बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र, कोशी प्रदेश (१०४) को पहलमा गत कात्तिक ९ गते परिवारको जिम्मा लगाइएको हो।
किन इन्डियाका प्रमुख नवीन जोशीका अनुसार लामो समयदेखि सन्तानको खोजीमा रहेका परिवारका सदस्यले बालबालिका सुरक्षित रूपमा घर फर्किएपछि ठूलो राहत महसुस गरेका छन्।
किन इन्डियाका ग्लोबल संयोजक इन्द्रराज भट्टराईले विभिन्न बहानामा महिला तथा बालबालिकालाई भारत पुर्याएर बेचबिखन तथा तस्करी गर्ने घटना अझै चुनौतीका रूपमा रहेको बताए।
यस्ता घटनामा परेकाहरूको उद्धार, संरक्षण र पारिवारिक पुनर्मिलनका लागि सरकारी निकाय तथा सामाजिक संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ।
भट्टराईका अनुसार सन् २०१८ देखि हालसम्म किन इन्डियाको पहलमा करिब १ हजार ५ सय नेपाली महिला तथा बालबालिकाको उद्धार गरिएको छ।
उनले बालबालिका हराएको अवस्थामा परिवारले ढिलाइ नगरी तत्काल प्रहरी तथा सम्बन्धित निकायलाई खबर गर्न पनि आग्रह गरेका छन्। बालबालिका हराएमा खोजतलास तथा उद्धारका लागि बाल हेल्पलाइन १०९८ र बालबालिका खोजतलास सेवा १०४ मा सम्पर्क गर्न सकिन्छ।
समयमै गरिएको एउटा खबरले हराएको सन्तानलाई सुरक्षित रूपमा घर फर्काउन महत्वपूर्ण भूमिका खेल्न सक्छ। त्यसैले बालबालिका हराएको अवस्थामा आफैँ खोज्दै समय बिताउनुभन्दा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउनु आवश्यक छ।