चालु आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलन निराशाजनक देखिएको छ । साथै पहिलो तीन महिनाबाटै सरकारको आम्दानीलाई खर्चले उछिनेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्म २ खर्ब ४८ अर्ब २६ करोड रुपैयाँ मात्र राजस्व उठेको छ । यो लक्ष्यको १७.४९ प्रतिशत हो ।
यस वर्ष सरकारले १४ खर्ब १९ अर्ब रुपैयाँ बराबर राजस्व संकलनको लक्ष्य राखेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा संकलनमा केही सुधार भए पनि लक्ष्यभन्दा भने पछाडि रहेको छ ।
गत वर्ष असोजसम्म २ खर्ब १९ अर्ब रुपैयाँ राजस्व उठेको थियो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजस्व २ खर्ब १९ अर्ब र गैरकर राजस्व २८ अर्ब ५७ लाख रुपैयाँ उठेको छ । अन्य आम्दानी ४ अर्ब ७५ लाख रुपैयाँ हुँदा सरकारले असोज मसान्तसम्म २ खर्ब ५३ अर्ब रुपैयाँ मात्र आम्दानी गर्न सकेको छ ।
यसबीचमा सरकारको खर्च भने ३ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ । सोहीकारण सरकारको आम्दानीको तुलनामा खर्च ७६ अर्ब रुपैयाँले माथि छ ।