बन्दाबन्दी यति गरिदियौ कि मनमै गर्यौ बन्द
गाउँ शहर सब घर घर थुनेर गर्यौ उदण्ड ।
हल्ला छैन बाहिर सुनसान राखेर सडक खाली
प्रकृति पनि उन्मादले हाँसिन् बन्दाबन्दीमा यसपालि।
चराहरुले बैँस फिंजाए यी फूलहरु मुस्कुराउँदा
कालोपत्रे बैजनी भयो ती फूलमाथि चरा नाँच्दा ।
भए रातो, पहेलो अनि सेतो थुप्रै सडकका पेटी
लाग्यो मन मग्मगाउन सँगै साक्षत तिमिलाई भेटी ।
यता गाउँमा कति सुहाएको घरभरि जहान भरिँदा
बाआमाको रोग आधी घट्यो काखमा नातिना पाउँदा ।
पाखाहरु खनजोत भए प्राय बिउबिजन अंकुराए
यतै टिक्ने थिए पहलमान पाखुरा कृषिले मूल्य पाए ।
बालक, वृद्ध, प्रकृति सब देखिन्छन् निस्फिक्री हर्षमा
यिनलाई हेर्दा लाग्छ बन्दाबन्दी गर्दिउँ एकचोटि बर्षमा ।
यिनलाई हेर्दा लाग्छ बन्दाबन्दी गर्दिउँ एकचोटि बर्षमा ।