नेपाली राजदूतावास, नयाँ दिल्लीको आयोजनामा भारतको गोवामा श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रमको आयोजना भारतमा रहेका नेपाली श्रमिकहरूलाई भारतीय श्रमसम्बन्धी कानुनबारे जानकारी दिनका लागि गरिएको हो ।
यो कार्यक्रम मानव बेचबिखन र तस्करी विरुद्ध क्रियाशील सामाजिक संस्था किन ईन्डिया दिल्लीको सहकार्यमा सम्पन्न भएको हो । किन ईन्डिया दिल्लीका निर्देशक नवीन जोशीका अनुसार भारतमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकहरूलाई नियम, कानुन थाहा नहुनुका कारण विभिन्न समस्यामा पर्नुपरेको छ । उनीहरूलाई सचेत गराउने उद्देश्यले गोवामा यो कार्यक्रम आयोजना गरिएको हो ।
करिब २ सय नेपाली श्रमिकहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा भारतका कानुन व्यवसायीहरूको समेत सहभागिता रहेको थियो । अन्तरक्रिया
कार्यक्रममा नेपाली दुतावासका डेपुटी चिफ डा. सुरेन्द्र थापाले श्रमिकहरूले भोगिरहेका समस्याहरू, कानुनी उपायहरू तथा समस्यामा परेमा कुन निकायबाट सहयोग लिन सकिन्छ भन्नेबारे जानकारी गराएका थिएँ ।
किन इण्डियाका नेपाल प्रमुख इन्द्रराज भट्टराईले सुरक्षित आप्रवासनका बारेमा नेपाली समुदायलाई सचेत गराएका थिए । उनका अनुसार हाल भारतमा बिभिन्न ठाउँहरूमा रोजगारीका लागि जाने नेपाली श्रमिकहरूले विविध समस्या भोग्नुपरेको, कतिपय नेपालीहरू मानव बेचबिखन र तस्करीमा पर्ने गरेको पृष्ठभूमिमा यस्ता सचेतनामूलक कार्यक्रमले ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।