सरिया खातुनको घटनाले दिएको हाम्रो समाजका लागि गम्भीर चेतावनी
“शब्दले घाउ बनाउँछ्, व्यवहारले त्यसलाई गहिराइ बढाउँछ, र कहिलेकाहीँ हाम्रो मौनताले एउटा निर्दोष जीवन नै अन्त्य हुन सक्छ ।”
हालै बाराको कलैया उपमहानगरपालिका–२१, भौडाहकी १३ वर्षीया सरिया खातुनको दुःखद मृत्युले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ । सार्वजनिक रूपमा आएका विवरणअनुसार उनीमाथि कथित रूपमा भएको दुव्र्यवहार, अपमानजनक व्यवहार तथा त्यससँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको घटनापछि उनले गम्भीर मानसिक तनाव भोग्नुपरेको परिवारको दाबी छ । यस घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाराले आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ । अनुसन्धान जारी रहेकाले घटनाको अन्तिम सत्य कानुनी प्रक्रियाबाट स्थापित हुनेछ ।
तर यस घटनाले हामी सबैमा एउटा गम्भीर प्रश्न खडा भएकोे छ,
यदि कुनै बालिका सामाजिक अपमान, सार्वजनिक लाञ्छना र डिजिटल माध्यममा फैलाइएको सामग्रीका कारण आफ्नो जीवन नै निरर्थक ठान्न बाध्य महसुस गर्छिन् भने, त्यसको जिम्मेवार केवल एक व्यक्ति हो, कि हाम्रो मौन समाज, विकृत सोच, असंवेदनशील व्यवहार र ’भाइरल’ संस्कृतिसमेत हो?
भाइरल संस्कृतिको अँध्यारो पाटो
सामाजिक सञ्जालले संसारलाई नजिक ल्याएको छ । सूचना आदानप्रदान सहज बनाएको छ । आवाजविहीनलाई बोल्ने अवसर दिएको छ । तर यही माध्यमले कहिलेकाहीँ कसैको आत्मसम्मानलाई सार्वजनिक तमासा पनि बनाइदिन्छ ।
ऋाजको यो दुर्घटना होस्, झगडा होस्, कसैको रोदन होस् वा अपमान, धेरैको पहिलो प्रतिक्रिया सहयोग गर्नुको साटो मोबाइल निकालेर भिडियो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने जस्ता व्यवहार हुन्छन् । अनि सुरु हुन्छ, सेयर, टिप्पणी, हाँसो, आरोप, अफवाह र चरित्रहत्या ।
हामी बिर्सन्छौँ कि हरेक भिडियोभित्र एउटा संवेदनशील मानिस हुन्छ, जसको पनि सम्मान, परिवार, सपना र भविष्य हुन्छ ।
कहिलेकाहीँ हाम्रो एउटा “सेयर” कसैको जीवनभरको पीडा बन्न सक्छ, उसको मृत्युको कारण बन्नसक्छ ।
साइबर बुलिङ—अदृश्य तर घातक हिंसाः
डिजिटल माध्यम प्रयोग गरी कसैलाई बारम्बार अपमान गर्ने, धम्क्याउने, चरित्रहत्या गर्ने, निजी सामग्री अनुमति बिना सार्वजनिक गर्ने, अफवाह फैलाउने वा मानसिक पीडा दिने कार्यलाई साइबर बुलिङ भनिन्छ ।
यसका सामान्य रूपहरू यस्ता छन्,
अपमानजनक भिडियो वा तस्बिर भाइरल बनाउने ।
चरित्रहत्या गर्ने टिप्पणी गर्ने ।
झुटा सूचना फैलाउने ।
निजी सामग्री अनुमति बिना सार्वजनिक गर्ने ।
समूह बनाएर कसैलाई लक्षित गर्दै गाली गर्ने ।
सामाजिक रूपमा लज्जित बनाउने ।
कतिपय मानिस यस्ता गतिविधिलाई “ठट्टा“, “मजा“ वा “रमाइलो कन्टेन्ट“ सम्झन्छन् । तर यस्ता कार्य मानसिक हिंसाका गम्भीर रूप हुन् ।
किशोरावस्था किन सबैभन्दा संवेदनशील?
किशोरावस्था आत्मपहिचान निर्माण हुने, आत्मविश्वास विकास हुने र साथीहरूको स्वीकृतिले ठूलो अर्थ राख्ने जीवनको संवेदनशील चरण हो ।
यस उमेरमा सार्वजनिक अपमान, निरन्तर गाली, सामाजिक बहिष्कार वा अनलाइनमा फैलाइने नकारात्मक सामग्रीले गहिरो मानसिक असर पार्न सक्छ ।
बालबालिकाको डिजिटल सुरक्षा केवल मोबाइल खोसेर होइन, उनीहरूलाई सुरक्षित डिजिटल व्यवहार, आत्मसम्मान र भावनात्मक सहारा प्रदान गरेर सुनिश्चित गर्न सकिन्छ ।
नेपालका लागि बढ्दो चुनौती
नेपालमा स्मार्टफोन र इन्टरनेटको पहुँच तीव्र रूपमा बढिरहेको छ । तर डिजिटल नैतिकता, जिम्मेवार सामाजिक सञ्जाल प्रयोग र साइबर सचेतना त्यही अनुपातमा विकास हुन सकेको छैन ।
हामी छोराछोरीलाई फेसबुक, टिकटक र इन्स्टाग्राम चलाउन सिकाउँछौँ, तर कसैको अनुमति बिना भिडियो पोस्ट गर्नु अपराध हुन सक्छ भन्ने कुरा सिकाउन बिर्सिरहेका हुन्छौँ ।
हामी “भ्युज“ बढाउने तरिका सिकिरहेका छौँ, तर “मानवता” जोगाउने संस्कार सिकाउन चुकेका हुन्छौँ ।
कानुनले पनि जिम्मेवारी तोकेको छ
नेपालको कानुनी व्यवस्थामा विद्युतीय माध्यमको दुरुपयोग, बालबालिकामाथिको हिंसा, गोपनीयताको उल्लङ्घन, सार्वजनिक अपमान तथा आत्महत्या दुरुत्साहनजस्ता कसुरहरूको अनुसन्धान र कारबाही गर्ने व्यवस्था छ ।
यदि कुनै व्यक्तिको कार्यले अर्को व्यक्तिलाई गम्भीर मानसिक क्षति पु¥याएको वा आत्महत्यातर्फ उक्साएको प्रमाणित हुन्छ भने अदालतले उपलब्ध प्रमाणका आधारमा कानुनी निर्णय गर्छ।
त्यसैले,
सामाजिक सञ्जालमै न्यायाधीश नबनौँ ।
अनुसन्धानलाई प्रभावित नगरौँ ।
प्रमाणबिना कसैलाई दोषी घोषणा नगरौँ ।
अफवाह फैलाउने कार्यमा सहभागी नबनौँ ।
सबैभन्दा ठूलो गल्ती—पीडितलाई दोष दिनु ।
यस्ता घटनापछि समाजका केहीबाट यस्ता प्रश्न सोध्ने गरिन्छन्ः
“त्यहाँ किन गएकी?”
“त्यस्तो किन गरिस्?”
“त्यस्तो लुगा किन लगाएकी?”
“त्यहाँ किन पुगिस्?”
“कसैलाई सार्वजनिक रूपमा अपमान गर्ने अधिकार कसैलाई पनि छैन ।”
पीडितलाई दोष दिने संस्कृतिले अपराधीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संरक्षण गर्छ । यस्तो सोच बदल्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो ।
अभिभावकको भूमिका
बालबालिकाले “म ठीक छु“ भनेकै भरमा सबै ठीक छ भन्ने निष्कर्षमा नपुगौँ ।
हरेक दिन केही समय उनीहरूको कुरा सुनौँ ।
उनीहरूको साथी, विद्यालय, सामाजिक सञ्जाल र भावनात्मक अवस्थाबारे खुला संवाद गरौँ ।
यदि बालबालिका एक्कासि चुप लाग्ने, डराउने, खान नमान्ने, विद्यालय जान नचाहने वा एक्लै बस्न खोज्ने व्यवहार देखिएमा त्यसलाई सामान्य परिवर्तन भनेर बेवास्ता नगरौँ ।
विद्यालयको जिम्मेवारी
विद्यालय केवल पढाइ हुने ठाउँ मात्र होइन, सुरक्षित वातावरण निर्माण गर्ने संस्था पनि हो ।
अब हरेक विद्यालयमाः
बुलिङविरुद्ध स्पष्ट नीति,
साइबर सुरक्षा शिक्षा,
विद्यालय परामर्श सेवा,
विद्यार्थी संरक्षण समूह,
गोपनीय गुनासो प्रणाली,
यस्ता व्यवस्था प्रभावकारी रूपमा लागू गरिनुपर्छ ।
विद्यार्थीको भावनात्मक सुरक्षा पनि शैक्षिक उपलब्धिजत्तिकै महत्वपूर्ण हुन्छ भन्ने कुरा बुझ्न र त्यही अनुसारको व्यवहार आवश्यक छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताको जिम्मेवारी
यदि तपाईंको मोबाइलमा कुनै अपमानजनक भिडियो वा सामग्री आयो भने,
सेयर नगर्नुहोस् ।
डाउनलोड नगर्नुहोस् ।
टिप्पणी गरेर थप भाइरल नबनाउनुहोस् ।
बरु सम्बन्धित प्लेटफर्म वा निकायमा रिपोर्ट गर्नुहोस् ।
पीडितको गोपनीयताको सम्मान गर्नुहोस् ।
अरूलाई पनि नफैलाउन आग्रह गर्नुहोस् ।
याद राखौँ,
हरेक सेयरले सत्य फैलाउँदैन, कहिलेकाहीँ पीडा मात्र फैलाउँछ ।
सञ्चारमाध्यमको उत्तरदायित्व
पत्रकारिताको उद्देश्य पीडा बेच्नु होइन, सत्य, सन्तुलित र जिम्मेवार सूचना प्रवाह गर्नु हो ।
बालबालिकासम्बन्धी समाचारमा,
सनसनीपूर्ण शीर्षक प्रयोग नगरौँ ।
पहिचान र गोपनीयताको सम्मान गरौँ ।
अनुसन्धान नसकिँदै निष्कर्ष ननिकालौँ ।
मानसिक स्वास्थ्यसम्बन्धी सही जानकारी पनि सँगसँगै दिऔँ ।
समाजसँग एउटा प्रतिज्ञा
आउनुहोस्, आजै प्रतिबद्धता गरौँ,
१. कसैको अपमानजनक भिडियो कहिल्यै सेयर नगर्ने ।
२. साइबर बुलिङ देख्दा मौन नबस्ने ।
३. बालबालिकालाई डिजिटल नैतिकता सिकाउने ।
४. मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्ने ।
५. पीडितलाई दोष नदिने ।
६. अफवाह नफैलाउने ।
७. प्रमाणबिना कसैलाई दोषी घोषणा नगर्न े।
८. सम्मानजनक भाषा प्रयोग गर्ने ।
९. विद्यालय र परिवारबीच सहकार्य बढाउने ।
१०. ’भ्युज’ भन्दा ’जीवन’ ठूलो हो भन्ने कहिल्यै नबिर्सने ।
अन्तिममा
सरिया खातुन अब फर्केर आउनुहुन्न । उनको परिवारले भोगेको पीडा कसैले मेटाउन पनि सक्दैन । तर यदि उनको दुःखद घटनाले हाम्रो समाजलाई सचेत बनायो भने, त्यो परिवर्तन नै उनीप्रतिको सबैभन्दा ठूलो श्रद्धाञ्जली हुनेछ ।
यदि एउटा अभिभावकले आज आफ्ना छोराछोरीसँग खुलेर कुरा गर्न थाल्नुभयो...
यदि एउटा शिक्षकले विद्यालयमा बुलिङ रोक्न नयाँ पहल गर्नुभयो...
यदि एउटा युवाले अर्को पटक कुनै अपमानजनक भिडियो सेयर नगर्ने निर्णय गर्नुभयो...
यदि एउटा किशोरले समस्यामा परेका साथीलाई “म तिम्रो साथमा छु” भन्न सिक्यो...
यदि हामी सबैले सामाजिक सञ्जालमा मानवता, संवेदनशीलता र जिम्मेवारीलाई प्राथमिकता दिन थाल्यौँ...
अनि यस दिन सरियाको मृत्यु केवल एउटा दुःखद घटना मात्र रहने छैन; त्यो एउटा समाजलाई बदल्ने चेतनाको सुरुवात बन्नेछ । अरु सरियाको दुःखद मृत्युलाई रोक्न सकिने छ किनकि, एउटा भिडियोले केही क्षणका लागि मानिसलाई भाइरल बनाउन सक्छ, तर एउटा असंवेदनशील समाजले मानिसलाई यति एक्लो बनाइदिन सक्छ कि त्यो एक्लोपन नै कहिलेकाहीँ जीवनभन्दा ठूलो पीडा बन्न पुग्छ, मृत्यु बन्न पुग्छ ।
सबैको सहयोग आवश्यक छः
यदि तपाईं वा तपाईंको चिनजानमा कोही गम्भीर मानसिक तनाव, निराशा वा आत्महत्यासम्बन्धी विचारसँग संघर्ष गरिरहनुभएको छ भने, कृपया विश्वासिलो परिवारका सदस्य, साथी, शिक्षक वा मानसिक स्वास्थ्य विशेषज्ञसँग तुरुन्त कुरा गर्नुहोस् ।
कसैलाई न्याय दिलाउने सबैभन्दा प्रभावकारी उपाय अर्को जीवन जोगाउनु हो ।
(लेखक मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्धको क्षेत्रमा कार्यरत सामाजिक अभियन्ता तथा प्रशिक्षक हुनुहुन्छ ।)