काठमाडौँ;- नुवाकोटको म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङले सूचना संशोधन गरेर ७ करोडको ठेक्कामा कमिसन खाएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा परेको थियो । यही चैत १४ गते अख्तियारको केन्द्रीय कार्यालयमा ७ करोडको ठेक्कामा सूचना संशोधन गरी अध्यक्ष आशा तामाङले भ्रष्टाचार गरेको दाबीसहित उजुरी दर्ता भएको छ । यस मुद्दामा आयोगले भने अनुसन्धान सुरू गरिसकेको बताए पनि अन्य जानकारी भने सर्वजनिक गरेका छैनन् ।
गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि २०७७ असोज ६ गते सूचना प्रकाशित गरेकोमा ३० दिन भित्र बोलपत्र पेश गर्न पर्नेमा २ कम्पनीहरुको बोलपत्र निवेदन परेकोमा अध्यक्ष तामाङले फेरि सूचना संशोधन गरेर नयाँ कम्पनीको प्रवेश गराएर ३३ प्रतिशत अर्थात करिब २ करोड ४५ लाख कमिसन बुझेको दाबी उजुरीमा गरिएको छ ।
उजुरीमा उक्त बोलपत्रको कागजात नियमन्त्रणमा लिएर अनुसन्धान गर्न माग गरिएको छ । भ्रष्टाचारको मुद्दा परेका आशा ठेकेदार पनि हुन । उनी २०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए । आशाको सामरी कन्स्ट्रक्सन प्रा लि सञ्चालनमा रहेको छ ।
सत्तागठबन्धन मध्यको मुख्यदल नेपाली कांग्रेसको गढ मानिएको म्यागङको राजनीतिक धरातल तरल बन्दै गएको छ। मुख्यतः प्रमुख बिपक्षी दल नेकपा एमाले र आफुलाई बैकल्पिक शक्तिको रुपमा स्थापित गराउँदै लगेको जसपाको भण्डाफोर अभियान अन्तर्गत पेचिलो बन्दै गएको अनुमान पनि लगाउन सकिन्छ।
विभिन्न खाले अनियमितता र भ्रष्टाचार लगायतका अनेकौं कमिशन काण्डमा चुर्लुम्म डुबेको म्यागङ कांग्रेस र प्रमुख आशा तामाङको प्रतिरोधमा आफुलाई प्रतिपक्षी बताउन रुचाउने माओवादी केन्द्र नतमस्तक मुकदर्शक बनिरह्यो। तर आगलागी काण्ड र औषधि काण्ड लगायत हालैको कमिसन काण्डको भण्डाफोर गरेर नेकपा एमालेले आफुलाई सशक्त प्रतिपक्ष्यको रुपमा उभ्याइदियो।
कांग्रेस भित्रैपनी दुईलाइन संघर्ष चर्किदै गर्दा आतमसिंङ लामाहरुले प्रतिरोध जारी राख्यो भने म्यागङ कांग्रेसको मनोमानी माओवादी केन्द्र र रामेश्वर खड्का लगायतले निरीह बनेर टुलुटुलु हेरिरह्यो।
यसअघि म्यागङ गाउँपालिकामा भ्रष्टाचारको प्रमाण मेटाउन आगजनी गरेको विषय पनि बाहिर आएको थियो । गाउँपालिकाले गरेका धेरै काममा भ्रष्टाचार भएको भन्दै वडा वडाबाट आवाज उठिरहेको समयमा लकडाउनको समयमा गाउँपालिकाको सबै महत्वपूर्ण कागजात एकैठाउँमा जल्ने गरी आगजनी भएपछि राजनीतिक दलहरू समेत शशंकित बनेर आन्दोलित नै भएका थिए ।