गोरखा । गोरखा नगरपालिकाका १६ कर्मचारी घटुवामा परेका छन् । पूर्व मेयर राजनराज पन्तका पालामा आफुखुशी कर्मचारीको बढुवा गरेको भन्दै १६ कर्मचारीहरुलाई प्रदेश लोक सेवा आयोगले घटुवा गरिदिएको हो ।
पूर्व मेयर पन्तका पालामा पालिकामा कार्यरत विभिन्न १६ कर्मचारीलाई ९औं नगर सभा मार्फत बढुवा गरेका थिए । बढुवा भएका सबै कर्मचारीलाई आयोगले जेष्ठ २६ गते परिपत्र गर्दै आयोगको बिना परामर्श कर्मचरीको सेवा, शर्त सम्वन्धी एैन जारी गरी आफुखुशी कर्मचारीहरु बढुवा गरेको भन्दै आयोगको ऐन २०७६ को दफा ४३ बमोजिम कर्मचारी बढुवा बदर गरिएको जनाएको छ ।
गोरखा नगरपालिकाको ९औं नगर सभाबाट नायब सुब्बा रामकुमार श्रेष्ठ, शोभा दवाडी प्रधान, बिमला वाग्ले र किरण कट्टेललाई अधिकृत छौठौमा बढुवा गरिएको थियो । सुन्दर श्रेष्ठ, सरस्वती कमर, अनिलभक्त तिवारी, रामबहादुर कोइराला, प्रकाशचन्द्र ढकाल र सरस्वती अधिकारीलाई खरिदारबाट नायब सुब्बामा बढुवा गरिएको थियो ।
त्यस्तै गरी, छौंठौ अधिकृत पदमा रहेका ईन्जिनियर प्रकाश ढकाललाई सातौ तहमा, लेखापाल नारायण मरहट्टालाई लेखा अधिकृत, सव ईन्जिनियर राजु श्रेष्ठलाई ईन्जिनियर पदमा र सहायक लेखापाल सावित्री अधिकारीलाई लेखापाल तथा कार्यालय सहयोगी शोभा गुरुङलाई खरिदार पदमा बढुवा गरेकोमा आयोगले सबैको पद घटुवा गरेको आयोगका सचिव बिनोदबहादुर कुँवरले जानकारी दिए ।
कुँवरका अनुसार सेवा ब्यवस्थापन ऐन २०७८ अनुसार गोरखा नगरपालिकाले गरेको १६ जनाको बढुवा खारेज गर्दै पुनः साविककै पदमा रहेको जनाएको छ ।