काठमाडौं- काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारमा रहेका अनधिकृत संरचना हटाउने निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयको सहयोग मागेको छ ।
महानगरपालिकाले गृह मन्त्रालयलाई एक बुधबार पत्र लेख्दै महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रुपमा अगाडि बढाउनुपर्ने जनाएको हो ।
‘जसको लागि तहाँ मार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय हुन अनुरोध गरिन्छ’, महानगरले गृहलाई लेखेको पत्रमा भनिएको छ, ‘उल्लेखित अतिक्रमित क्षेत्र मध्ये थापाथलीस्थित बागमती नदी किनारमा अव्यवस्थित/अनधिकृत रुपमा रहेको संरचना हटाई सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन बागमती सभ्यता एकीकृत विकास परियोजना समेतबाट अनुरोध भै आएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाइएको भएतापनि सो सफल हुन सकेको अवस्था छैन ।’
महानगरले थापाथली क्षेत्रका अनधिकृत संरचना हटाएर सौन्दर्यीकरण गर्ने समेत जनाएको छ । ‘यसर्थ विशेष गरी थापाथलीस्थित उल्लेखित क्षेत्रमा रहेका अनधिकृत संरचना हटाइ तहाँ सौन्दर्यीकरणको कार्य तत्काल सुरु गर्ने कार्यक्रम रहेकोले सो संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध छ ।’
महानगरले त्यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक समन्वयको लागि अनुरोध समेत गरेको छ ।