गोरखाको अजिरकोट गाउँपालिकाले पालिका भित्र यातायात गुरुयोजना निर्माणको प्रक्रिया अघि बढाएको छ । गाउँपालिका भित्र सडक पूर्वाधार बिकासलाई दिर्घकालिन महत्व र रणनीतिका साथ अघि बढाउने उद्देस्यले गाउँपालिकाले गुरुयोजना निर्माणको काम अघि बढाएको गाउँपालिका अध्यक्ष दीपक देवकोटा बताउनुहुन्छ । प्रस्तुत छ यसै बिषयमा अध्यक्ष देवकोटासंग गाउँपालिकाले तयार गर्न लागेको गुरुयोजनाका सन्दर्भमा नागरिक सवाल डटकमका सम्पादक दीपक श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंश ।
१.अजिरकोट गाउँपालिकाले तयार गर्न लागेको यातायात गुरुयोजना कस्तो खालको योजना हो ?
यातायात गुरु योजना भनेको अव्यस्थित रुपमा रहेका बाटाघाटा र बस्तीहरु जुन छन् त्यसलाई रणनीतिक ढंगले दिर्घकालिन लक्ष्यका हिसावले निर्माण प्रक्रिया अगाडी बढाउने यसको सैदान्तिक अबधारणा हो । हाम्रो पालिकामा कतिपय सडकहरु जिल्ला स्तरीय मापदण्डका हुन्छन् । गाउँपालिका आफैले पनि त्यहाँको जनघनत्व, यहाँको आबश्यकता, बढ्दो शहरीकरणलाई ध्यानमा राखेर आफ्नो गाउँपालिकाका सडकका मापदण्ड के के हुन् ? भनेर पूर्व तयारीको अबस्था हो । यसले गर्दा आज कयौं बिकास भइसकेका सडकहरु कंक्रिट नै कंक्रिटको शहर भएका छन् । त्यसो हुन नदिन र सुन्दर अजिरकोट गाउँपालिका निर्माणका लागि सडक गुरु योजना निर्माण गर्न लागिएको हो ।
२.अजिरकोट गाउँपालिकाले निर्माण गर्न लागेको एकिकृत गुरुयोजना निर्माणको काम कसरी अघि बढाएको छ ?
एकिकृत गुरुयोजना निर्माण गर्नका लागि मुख्य गरि जनघनत्वका आधारमा, आबश्यकताका आधारमा, महत्वका आधारमा सडकको बर्गिकरण गराइन्छ । अजिरकोट गाउँपालिकाले पनि सडकलाई क, ख, ग र घ भनेर चार प्रकारमा बर्गिकरण गर्छ । बर्गिकरण गरिसकेपछि ‘क’ बर्गको सडक सवैभन्दा उत्कृष्ठ मापदण्डको हुन्छ । ‘क’ बर्गको सडकको मापदण्ड न्युनतम १४ मिटरको हुन्छ । ‘ख’ बर्गको सडकको न्युनतम मापदण्ड १० मिटर हुन्छ । ‘ग’ बर्गको सडकको न्युनतम मापदण्ड ८ मिटर हुन्छ र ‘घ’ बर्गको सडकको न्युनतम मापदण्ड ६ मिटरको हुन्छ । त्यसो भइसकेपछि हामीले एक पटक सडक निर्माण गरिसकेपछि यसले ५० बर्षसम्म अजिरकोट भविस्य यसले सुनिश्चित गर्दछ । यस्तो रणनीतिक महत्वका बिषयबस्तुलाई ढिलाई गर्दाखेरी हामीले भोली व्यवस्थित गर्न सक्दैनौ । त्यसकारण हामीले एकिकृत गुरुयोजना लागू गरिसकेपछि सवैले त्यसैको आधारमा घर बनाउने, व्यापार व्यवसाय गर्ने, उद्योगहरु खोल्ने दिर्घकालिन रुपमा अजिरकोट गाउँपालिकाबासीको सुन्दर भविस्य कोर्नका लागि सजिलो हुनेगरि बाटो खुल्छ ।
३. गाउँपालिकाले सडक गुरु योजना निर्माण गरिसकेपछि त्यसै अनुसारको सडक निर्माणका लागि बजेट व्यवस्थापन गर्न चुनौती पूर्ण छैन र ?
गाउँपालिकाको बजेटबाट मात्र सवै सडक निर्माण गर्ने भन्ने कुरा सम्भव छैन र सजिलो पनि छैन । समपुरक तथा संघिय अनुदानहरुलाई केन्द्रीत गरेर एकिकृत सडक गुरुयोजना अनुसार पालिका भित्र सडक निर्माणको काम अघि बढाउने हाम्रो मुख्य योजना हो । गाउँपालिकाको गुरु योजना अनुसार ‘क’ बर्गको सडक भन्नाले पहिलो प्राथामिकताको सडक भयो । ‘क’ बर्गको सडकले गाउँपालिकाको वडाहरु छुनेछन, गाउँपालिका केन्द्रलाई छुनेछन्, हस्पिटलहरु छुनेछन् भने त्यसबाट शहरसंग जोडिएका अरु बिकासका पूर्वाधारहरुसंग पनि जोडिएको हुनेछ । त्यस्ता खालका सवै सडकहरु चाहीँ ‘क’ बर्गमा पर्छ । त्यस्ता सडकमा बजेट बिनियोजन गर्न जब डिपिआर गर्छौ तव प्रदेश सरकार र संघिय सरकारलाई पनि बाटो खुल्छ । त्यस बाहेक गाउँपालिकाको बजेट निर्माण गर्न सक्ने खालका सडकलाई गाउँपालिकाले बजेटको व्यवस्था गर्नेछ भने प्रदेश सरकारसंग पनि आबश्यक सडक निर्माणका लागि एकिकृत गुरुयोजना निर्माण सम्पन्न गरेपछि आबश्यक पहल गर्छौ । यस्तो रणनीतिक महत्वको काम गर्नका लागि यो यातायात गुरुयोजनाको हामीले प्रक्रिया अहिले सुरुवात गरेका हौ ।
४. गुरु योजना निर्माण अन्र्तगत अहिले के के कामहरु भइरहेका छन् ?
हाम्रो गाउँपालिकामा पाँच वटा वडाहरु रहेका छन् । अहिले सवै वडाहरुमा सुनुवाई हुने क्रम चलिरहेको छ । कुन सडकलाई कस्तो मापदण्ड बनाउने, सडक निर्माण गर्न लागिएको ठाउँका जनताको गुनासोहरु के छ ? राय सुझावहरु के छ भनेर व्यापक जनताको सहभागिता सहितको हामीले परामर्स गरिरहेका छौ । त्यसबाहेक परामर्स दाताहरु बोलाएर हामी काम गर्छौ । यस प्रक्रियामा भुगर्वविद्हरु हुन्छ, अमिनहरु हुन्छन्, यसमा सिभिल इन्जिनियरहरु हुन्छन् र उनिहरुको गुप्रले हामीलाई एउटा प्रतिवेदन बनाएर बुझाँउछ । त्यो प्रतिवेदन प्राप्त भएपछि फेरि हामी आम ढंगले सवै वडामा गएर सार्वजनिक सुनुवाई गर्छौ । सार्वजनिक सुनवाई उठेका जनताका सुझाव, प्रतिक्रिया आइसकेपछि गाउँपालिकामा पेश गरेर गाउँसभामा पेश हुन्छ र ऐन बन्छ । ऐन बनाएपछि अनिबार्य हुन्छ र सवैले पालना गर्नुपर्ने हुन्छ ।
५.गाउँपालिकाको यातायात गुरु योजना कहिलेसम्म तयार हुन्छ ?
हामीले सूचना निकालेर परामर्स दातालाई आवहन गरेको फागुनको पहिलो हप्तामा हो । अबको बढीमा दुई वा साढे दुई महिना भित्रमा यातायात गुरुयोजना काम सक्छौ ।
६.जसरी बिकासका नाममा जथाभावी सडक निर्माण गर्ने क्रम चलिरहेको छ तपाईहरुले यातायात गुरुयोजना निर्माण गरि सकेपछि जथाभावी सडक खन्ने निर्माण गर्ने क्रम चाँही अन्त्य हुन्छ यो गाउँपालिकामा ?
पहिलो कुरा त हाम्रो गाउँपालिकाले पालिका भित्र अहिले कुनैपनि ठाउँमा नयाँ ट्रयाक खोल्नका लागि डोजर चलाउन पाइदैन भन्ने कुरा गाउँपालिकाको चालु आर्थिक बर्ष २०७९/०८० को नीति र कार्यक्रममा हामीले उल्लेख गरेका छौ । खाली बिकास भनेको डोजर चलाउने हो भन्ने मान्यतालाई अन्त्य गर्ने, गाउँको उर्वराशक्तिको माटो खोलामा गएर मिसिने र गाउँ चाँही खण्डहर हुने जो स्थिति बनिरहेको छ त्यसलाई हामीले नियमन गर्नपनि गाउँपालिको अब सडकका मापदण्ड तोक्छ र हामीले मापदण्ड तोकेका भन्दा बाहेकका सडकमा गाउँपालिकाले आफूले लगानी गर्दैन ।