गोरखा- धार्चे गाउँपालिकाका उपाध्यक्ष सुनिला गुरूङले बाल विवाह जस्तो सामाजिक अपराध अन्त्यका लागि सबैले आफ्नो ठाँउवाट पहल गर्नु आवश्यक भएको बताएकी छन्। गाउँपालिकाले बिहीबार माछीखोलामा आयोजना गरेको “बाल विवाह र बहु विवाह न्यूनीकरण” सम्बन्धी न्यायिक समिति, समुदाय र प्रहरीबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरूङले यस्तो बताएकी हुन्।
उनले बाल विवाहका कारण महिलाहरूले शिक्षा प्राप्त गर्न नसकेको, सानै उमेरमा विवाह हुँदा छिटो बच्चा जन्मने र स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुने गरेको कारण धेरै महिलाहरूले पाठेघरको समस्या भोग्नुपरेको बताइन्। गाउँपालिकाको वाल विवाह विरुद्धको अभियानमा रहेकोले यसलाई सफल बनाउने विभिन्न सरोकारवाला निकायहरूले हरतवरले हातेमालो गर्न आग्रह गरिन्।
यसैगरी पालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले स्वागत मन्तव्य, बाल विवाह र बहु विवाह विकासका बाधक रहेकोले यस्तो अन्यका लागि गाउँपालिकाले आफ्नो नीति कार्यक्रममा नै यो बिषयलाई प्राथमिकतामा राखेको बताए।
उक्त कार्यक्रमको सहजीकरण सामाजिक अभियन्ता तथा प्रशिक्षक इन्द्रराज भट्टराईले गरेका थिए। कार्यक्रमलाई सहजीकरण गर्दै भट्टराईले न्यायिक समितिको काम, कर्तव्य र अधिकारबारे जानकारी गराउँदै मेलमिलापकर्ताहरूले खेल्नुपर्ने भूमिकाबारे स्पष्ट पारेका थिए। उनले बाल विवाहको समस्या र चुनौतीसँगै बाल विवाह र बहु विवाह सम्बन्धी नेपालको कानून र नेपालमा वर्तमान अबस्था तथा यसका विभिन्न आयामहरुका विषयमा सहभागीहरूसँग अन्तर्क्रिरया गरेका थिए।
कार्यक्रममा नेपाल प्रहरीका सहायक निरीक्षक मीन बहादुर छेत्रीले बाल विवाह र बहु-विवाहको कानुनी प्राबधान प्रस्तुत गर्दै यसको न्यूनीकरणमा प्रहरीले चालेका सचेतनात्मक अभियानमा सबै नागरिकको सहयोग तथा सहकार्य आवश्यक रहेको बताए। उक्त कार्यक्रममा बिभिन्न वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्यहरू र वडा सदस्यहरू, मेलमिलापकर्ताहरू, विभिन्न महिला समूहका प्रतिनिधि तथा बाल संजाल र बाल क्लवका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।