काठमाडौं- प्रधानमन्त्री पुष्पकमल ‘दाहाल’ प्रचण्डले युवाहरूको सर्वाङ्गीण विकासलाई लक्षित गर्दै आफूले कला–साहित्य र खेलकूद क्षेत्रलाई सबैभन्दा उच्च प्राथमिकता दिएको बताएका छन्।
आज आइतबार दिउँसो काठमाडौंमा प्रकाश दाहालको स्मृतिमा आयोजित तेस्रो राष्ट्रिय खुला महिला तथा पुरूष बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले खेल क्षेत्रको विकास राष्ट्रको समृद्धि र युवाहरूको भविष्यसँग जोडिएको बताएका हुन्।
प्रधानमन्त्रीले भने, ‘‘तपाईहरूले देख्नुभएकै छ– यसपटक मैले कला–साहित्य र खेलकूदको क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु। खेलकूदको विकासले युवाहरूको शारीरिक र मानसिक विकास मात्र गर्दैन, यसको बहुआयमिक महत्व छ। सामाजिक एकता र सद्भावका निम्ति, अर्थतन्त्रको विकासका निम्ति, पर्यटन प्रबर्धनका निम्तिसमेत खेल क्षेत्रको महत्वपूर्ण भूमिका छ।’’
‘‘प्रकाश दाहालको स्मरणलाई ताजै राख्ने, योगदानको स्मरण गर्ने र युवा पुस्तामा जीवन्त सम्बन्ध बनाउने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले खेल क्षेत्रको विकासमा थप मद्दत पुग्ने ठानेको छु’’ प्रधानमन्त्रीले भने। ‘‘
बक्सिङ खेललाई राम्रोसँग स्थापित गर्न भूमिका खेलेको भन्दै यसमा सरकारको साथ र सहयोग रहने उनले बताए। नेपाल बक्सिङ संघको तत्वावधान र अखिल नेपाल खेलकूद संघ र बुढानिलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिता चार दिनसम्म चल्ने आयोजकले जनाएको छ।