• सोमवार, श्रावण ११ गते २०८३

अर्थतन्त्रमा समस्या देखिनुको कारण पहिचान गरौं : मेटमणि चौधरी

अर्थतन्त्रमा समस्या देखिनुको कारण पहिचान गरौं : मेटमणि चौधरी

अर्थतन्त्रमा समस्या देखिनुको कारण पहिचान गरौं : मेटमणि चौधरी

  • 2.0K
    SHARES

  • अर्थतन्त्रमा समस्या देखिनुको कारण पहिचान गरौं : मेटमणि चौधरी

    काठमाडौं। प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले अर्थतन्त्रमा अहिले देखिएका समस्याको शीघ्र पहिचान गरी समाधानतर्फ लाग्नुपर्ने बताएका छन्। आर्थिक छलफल चौतारी नेपालले आज काठमाडौंमा आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले उक्त कुरा भनेका हुन्।

    ‘नेपालको अर्थतन्त्र गम्भीर अवस्थामा जाँदैछ, त्यसलाई कसरी पुनरुत्थान गर्ने भन्ने आवश्यकता छ,’ उनले भने, ‘हाम्रा नीति वा नियत केमा समस्या हो, पहिचान गर्न आवश्यक छ।’

    आर्थिक छलफल चौतारी नेपालका अध्यक्षसमेत रहेका सांसद चौधरीले अर्थतन्त्र सुधारका लागि कुन ठाउँमा समस्या छ र कसरी सुधार गर्ने भनेर पहिचान गरिनुपर्नेमा जोड दिए। उनले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिका लागि लिइएका सुझाव नेपाल राष्ट्र बैंकलाई दिने जानकारी दिए।

    कार्यक्रममा अर्थविद् डा डिल्लीराज खनालले बैंकिङ र वित्तीय क्षेत्रमा समस्या आउँदा समग्र अर्थतन्त्रमा नै समस्या आउने गरेको बताए। ‘पछिल्ला दिनमा अर्थतन्त्र सुधारोन्मुख देखिए पनि अझै संकट कायम छ। अहिले तरलता बढेको छ तर कर्जाको विस्तार हुन सकेको छैन,’ उनले भने।

    बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार उत्पादनमूलक क्षेत्रमा हुन नसकेको अर्थविद् डा खनालको भनाइ थियो। ‘कोभिड महामारी पछिको पुनरुत्थानका लागि हामीले विस्तारकारी मौद्रिक नीति ल्यायौँ। त्यो आवश्यक पनि थियो । पछि उक्त नीतिले समयानुकूल नतिजा दिन सकेन,’ उनले भने, ‘कहाँ लगानी भएको छ भन्ने विषयलाई हामीले उपेक्षा गरेका छौँ । साना, मझौला उद्योग र उत्पादन क्षेत्रमा लगानी नभएकाले बजारमा मूल्य वृद्धि देखिएको हो।’

    घरजग्गालगायत अनुत्पादक क्षेत्रमा लगानी हुनु, कर्जाको ठूलो हिस्सा निश्चित ठूला घरानाले सहुलियतपूर्ण रुपमा प्रयोग गर्नु, सहकारी संस्था समस्याग्रस्त हुँदै जानुलगायत समस्या वित्तीय क्षेत्रमा रहेकाले यसलाई सुधार्नु पर्नेमा अर्थविद् डा खनालले जोड दिए।

    अर्थविद् डा चन्द्रमणि अधिकारीले क्षेत्रगत कर्जाको नतिजा कुल गार्हस्थ्य उत्पादनमा देखिन नसकेको उल्लेख गरे। ‘कृषि, जलविद्युतलगायत क्षेत्रमा प्रवाह भएको कर्जा अनुसार ती क्षेत्रले जिडिपीमा पुर्‍याएको योगदान कम छ,’ उनले भने। कार्यक्रममा पूर्व बैंकर अनलराज भट्टराईले अहिले बजार माग खुम्चिएको उल्लेख गर्दै मौद्रिक नीतिले निजी क्षेत्रलाई व्यवसाय गर्न सक्ने वातावरण बनाउन सक्नुपर्ने धारणा राखे।

    सामाजिकपत्र

    • आइतवार, आषाढ २४ २०८००६:४३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology