जनकपुरधाम- जनकपुरधामको रामानन्दचोकस्थित रहेको जनकपुर सुरक्षा अस्पतालमा उपचारको क्रममा महिलाको मृत्यु भएपछि चिकित्सक भागेका छन् ।
मृतक महिलाको शव भने पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । पाठेघरमा घाउँ भएपछि गत बुधबार दिउँसो शल्यक्रियाका लागि भर्ना भएकी जनकपुरधाम उपमहानगरपालिका १५ कप्लेश्वरकी २८ वर्षीया सोनिया साहको शुक्रबार दिउँसो मृत्यु भएको थियो ।
डा.सरोज ठाकुरले संचालन गरेको अस्पतालमा महिलाको मृत्यु पश्चात आफन्तजनले लास गेटमै राखेर प्रदर्शन गरेका थिए । अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो । कुनै प्रकारको क्षति हुन नदिन व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । चिकित्सकहरु भागेपछि अन्य बिरामीहरुलाई अन्यत्र हस्पिटलमा सारिएर ताला लगाइएको हो ।
घटनापश्चात चिकित्सकहरु अस्पताल छाडेर भागेपछि बिरामीलाई अन्यत्र सारेर अस्पतालमा ताला लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले बताए ।
पाँच घण्टा पश्चात राति साढे ८ बजेतिर शव पोस्टमार्टमका लागि लगिएको हो ।