गोरखा- छत्तिस बर्षका एक पुरुषलाई ढुङ्गा प्रहरी गरी कुटपिट गरेर घाइते बनाउने चार जनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ । पालुङटार नगरपालिका वडा नम्बर १० मिरकोट घर भई गोरखा नगरपालिका–१०, छेवेटारमा बस्दै आउनु भएका बुद्धिमान लामालाई निर्धात कुटपिट गरी घाइते बनाउने युवाहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा गोरखा नगरपालिका वडा नम्बर ९ घर भएका ३६ बर्षका सन्तोष बस्नेत, २४ बर्षका राजन कुँवर, वडा नम्बर १० घर भएका ३६ बर्षका विवस बानियाँ र वडा नम्बर ४ फिनाम घर भएका दिवस बानियाँ रहेको उहाँले बताउनुभयो । लामालाई उनीहरुले गाली गलौज, धाक–धम्की दिनुका साथै लात्ती, मुक्का र ढुङ्गा समेतले प्रहार गरी घाईते बनाएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।
घटनाका सम्बन्धमा पिडितले प्रहरी कार्यालयमा जाहेरी चारै जनालाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरु बिरुद्ध शुक्रबार अभद्र व्यवहार गर्न नहुने कसूर शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो । गएको बुधबार साँझ करिब ८ बजेको समयमा उनीहरुले लामालाई आक्रमण गरी घाइते बनाएका थिए ।.