पोखरा- नेकपा (एमाले)का सचिव एवं गण्डकी प्रदेश कमिटीका इन्चार्ज गोकर्ण विष्टले आफूहरू विगतका घटनाबाट पाठ सिक्दै एमालेलाई बहुमत सहितको पार्टीको रूपमा स्थापित गर्ने उद्घोष गरेका छन्। अब एमालेलाई जुरुक्कै उठाउने गरी कार्यक्षेत्रमा एवं जनताको घर घरमा गएर खटिनु पर्ने उनले बताए।
एमाले कास्कीको आयोजनामा आयोजित नेपाल कम्युनिस्ट पार्टीका महासचिव पुष्पलालको ४५ औँ स्मृति दिवसको अवसरमा ‘नेपालको कम्युनिस्ट आन्दोलन कमरेड पुष्पलालको योगदान’ विषयक अन्तर्क्रियामा सचिव विष्टले विगतका विकासमा गरेका कामसँगै आफ्ना योजना र विकासका खाका जनतालाई बुझाउन सबैलाई आग्रह गरे।
कार्यक्रममा स्थायी कमिटी सदस्य खगराज अधिकारीले पुष्पलालको योगदानको चर्चा गर्दै उनको बिचार कयौं दशकसम्म सान्दर्भिक रहने उल्लेख गरे। अधिकारीले नेपाली राजनीतिको पहिलो र नेतृत्वदायी पार्टी कम्युनिस्ट पार्टी भएको दाबी गर्दै त्यसको नेतृत्व अहिले एमालेले गरिरहेको बताउँदै भोलि पनि नेतृत्व एमालेले नै गर्ने उल्लेख गरे।
कास्की इन्चार्ज तथा स्थायी कमिटी सदस्य थममाया थापाले विकास र समृद्धिको खाका निर्माणका लागि पुष्पलालको योगदान अतुलनीय रहेको बताइन्।