काठमाडौं- नेकपा (माओवादी केन्द्र) का पदाधिकारीहरूले नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलसँग आइतबार साँझ छलफल गरेको छ । काठमाडौँको द्वारिका होटलमा भएको छलफलमा चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य युआन च्याच्युन नेतृत्वको टोलीले माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीसँग छलफल गरेको हो ।
साँझको छलफल विशेषगरी दुई पार्टीबीचको सम्बन्ध विस्तार गर्ने विषयमा केन्द्रित रहेको थियो । नेपाल र चीनबीच रहँदै आएको सरकार, पार्टी र जनस्तरको तीन तहको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि आज छलफल भएको एक नेताले जानकारी दिए ।
युआन च्याच्युनले चिनियाँ कम्युनिस्ट पार्टी नेपालको शान्ति र समृद्धि स्थिरताको लागि पूर्ण सहयोग गर्न तयार रहेको बताएका थिए । उनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध सधैँ सुदृढ रहेको र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आगामी दिनमा हुने चीनको भ्रमणले यसलाई अझै सुदृढ बनाउने आशा व्यक्त गरेका थिए ।
पछिल्लो समय चिनियाँ नेतृत्वले नेपालका कम्युनिस्ट पार्टीहरूलाई एकजुट हुन सुझाव दिँदै आएका छन् । तर, आजको भेटमा भने यस विषयमा कुनै छलफल नभएको नेता बर्षमान पुनको भनाई छ ।
‘आजको भेटघाटमा दुई पार्टीबीचको सम्बन्ध विस्तारमा नै केन्द्रित रह्यो । ‘उहाँहरूले हामीसँग मात्र नभएर देशका अन्य राजनीतिक दलहरूसँग पनि सम्बन्ध विस्तार गर्न चाहनुभएको छ,’ नेता पुनले भने, ‘उहाँहरूले नेकपा एमाले र नेपाली कांग्रेसको नेतृत्वसँग पनि छलफल गर्ने कार्यतालिका रहेको छ ।’
चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको थियो भने इटालीको भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डसँग भर्चुअल संवाद समेत गरेको थियो ।