नेपालका कम्युनिष्ट पार्टी सैद्धान्तिक–राजनीतिक विषयमा मत–मतान्तर भन्दा पनि धेरैजसो व्यक्तिगत इगो, पद–प्रतिष्ठाको बिषयलाई लिएर कहिलै जुट्न नसक्ने गरि फुट्ने गरेका छन् । इतिहास हेर्नेको भने उनीहरु कहिलै जुट्न नसक्ने , साना-साना मतभेदमा समेत टुक्रने र साना-साना समूह बनाउने र आफ्नै पुर्व सहकर्मीलाई खुइलाउने गरेको प्रमाण थुप्रै पाइन्छ र बारम्बार उनीहरुलाई लाग्ने आरोप पनि यही हो।
तर दुई बर्ष अगाडी आजकै दिन माथिका आरोपलाई मिथ्य साबित गराउदै नेपालका दुई ठुला कम्युनिष्ट पार्टी (नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)) ले एकताको घोषणा गरे। जुन घोषणाले नेपालको कम्युनिष्टहरुलाई फुट्न मात्र जान्ने र जुट्न कहिले पनि नजान्ने भन्ने लाई दह्रो झापड लगाउदै बिश्वलाई नै कम्युनिष्ट आन्दोलन नया ढंगले नेपालबाट अगाडी बढ्ने सकरात्मक संदेश दिन सफल भयो।
दुई ठुला कम्युनिष्ट पार्टीको एकता संगै नँया नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको दुई बर्ष पुरा हुदा समेत एकता तलसम्म टुंगिनसकेको छैन। एकता टुंगिएका कमिटिमा समेत भावानात्मक एकता हुन सकि रहेको छैन। यसले भने नेकपाका नेता-कार्यकर्तामा एउटा मनोबैज्ञनिक असर परिरहेको पाइन्छ। त्यो हो पार्टी फेरी फुट्ने त होइन ?
के पार्टी फेरी फुट्ला ?
पार्टी एकताको निरन्तरताप्रति शीर्षनेतामै अविश्वास छ । नेताहरुको पछिल्लो अभिव्यक्ति हेर्ने हो भने पार्टी फुटको दिशामा अगाडी बढेको पाइन्छ। पार्टी र सरकारबीचको सहकार्य नहुनु , एकले अर्कोलाई अस्वीकार नगर्नु, पार्टीमा अराजकता बढ्दै जानु, सत्ताको लागि जे गर्न पनि पछि नपर्नु , आफ्नो स्वार्थको लागि नेता-नेता बीच झगडा सिर्जना गर्नु , भ्रस्टचारको निर्मुल पार्न सहयोग गर्नुको सट्टामा भ्रस्टचारमा मुछिएकाहरुलाई नै काखी च्याप्नु आदि प्रतिनिधि घटनाले गर्दा पार्टी एक ठाउँमा रही रहन्छ भन्न सकिने अवस्था छैन।
पार्टी संगठन संरचना हेर्ने हो भने भद्रगोल र लथालिंग छ । पार्टी भित्र अनुशासनहीनता र अराजकता मौलाएको कारण बिरोधीलाई रमिता हेर्ने अवसर मिलेको छ । नेताहरु सामाजिक सन्जालबाट एकले अर्कोविरुद्ध आरोप प्रत्यारोपमा उत्रेका छन्। मर्यादा र सीमाहरु कसले कति राख्ने कसैलाई ख्याल छैन। बिधि र पद्धति कागजको टुक्रामा सिमित छ। अनुसासन जप्ने नारामा सिमित भएको पाइन्छ । तर इतिहासबाट पाठ सिकेर अगाडी बढ्ने हो भने अहिले यो सोच्नु पनि मुर्खता हुने छ। किनकि अहिले कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार संचालन भइ रहेको छ र सुखी नेपाली समृद्ध नेपाल बनाउने कार्यभार यही सरकारको काधमा छ। त्यसकारण सबै कम्युनिष्ट पार्टीको एकताबाट मात्र यो कार्यभार पुरा गर्न सकिन्छ।
कसरी हुन्छ भावनात्मक एकता ?
केन्द्रमा देखिने गुटको प्रभाव तल्लो तहसम्म फैलिँदा भावनात्मक एकतामा समस्या भएको नेकपाका कार्यकर्ताहरू भन्न थालेका छन् । ‘पार्टीमा सिद्धान्तभन्दा व्यक्ति हाबी हुँदा गुट जन्मिने र ‘त्यसपछि भावनात्मक सम्बन्ध हराउँदै जाने हुन्छ। व्यक्तिभन्दा पार्टी ठूलो सोंच राखेमा भावनात्मक एकता बढ्दै जान्छ। उनेकपाको नेतृत्वमा सरकार संचालन भएको छ। अध्यक्ष केपी ओली प्रधानमन्त्री छन्। तर बहुमतको सरकार जनतामा आलोकप्रिय हुदै गहिरहेको छ। प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्डलाई समेत विश्वासमा लिन सकेका छैनन्। उनले पार्टी भित्रसमेत विश्वास जित्न नसक्दा सुखी नेपाली समृद्ध नेपालको नारा समेत नारामा सिमित हुने अवस्थामा पुगेको छ। उनी आफ्ना वरिपरी घुम्नेलाई बाहेक अरुलाई नदेख्ने र पार्टी भित्रकै आफ्ना गुटका बाहेकका कुरा समेत सुन्न नचाहाने प्रबिद्दी हाबी छ। बरियता क्रममा पहिलो अध्यक्ष भएको नाताले समेत यी र यस्ता बिषयमा ओलीको भूमिका प्रमुख हुने छ।
निस्कर्ष
२ वर्ष एकले अर्कोलाई कसरी पेल्ने र आफु कसरी शक्तिमा जाने भन्ने दाउपेचमै बितेको पाइन्छ। एकता निस्कर्षमा पुग्ने अवस्था अझै छैन। एकता भएकाहरुको अस्तित्व समेत कतै छैन। एकता भएका संघ-संगठनका नेतृत्वबिचको विवाद र एकता हुन बाकी संघ-संगठनका नेता कार्यकर्ताले जिम्मेवारी नपाउदा कार्यकर्ता पंक्तिमा ठुलो निराशा र पलायन हुने अवस्था आएको पाइन्छ। २०७७ चैत अन्तिम साता पार्टीको एकता महाधिवेशन गर्ने र आगामी भदौदेखि स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरु गर्ने निर्णय गरेको नेकपाले एकता नै नटुंगेकोको अवस्थामा एकता महाधिवेशन गर्ने सम्भावना नै नभएको नेताहरु बताउन थालेका छन्। ८ लाख भन्दा बढी संगठित कार्यकर्ता भएको नेकपाले बेलैमा सोच्न नसक्ने हो भने पार्टी दुर्घटनामा पर्ने निश्चित छ।
