गोरखा- जिल्लामा केही दिनयता आँखा पाक्ने रोगको संक्रमण फैलिन थालेको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रमा दैनिक ५० जनाभन्दा बढी बिरामी आँखा जचाँउन आउने गरेका छन् । गत सोमबार देखि शनिबारसम्म ४९३ जना परीक्षण गर्न आएको केन्द्रका प्रमुख विश्व प्रकाश अर्यालले बताए । तिनिहरु मध्ये २१४ पुरुष र २७९ महिला रहेका छन् ।
अर्यालका अनुसार परीक्षण गरेका मध्ये २९३ जनामा आँखा पाक्ने रोगको समस्या देखिएको छ । ति मध्ये अधिकांश बालबालिका रहेका रहेका छन् ।
एक्कासी आँखा रातो हुने, पोल्ने, घाममा हेर्न नसक्ने समस्या लिएर आउने बिरामीको संख्या एक सातादेखि आउने गरेको अर्यालले बताए । ‘दैनिक आँखा पाक्ने समस्या लिएर आउने बिरामीको संख्या बढिरहेको छ’, उनले भने, ‘बालबालिका र युवामा यो समस्या बढी देखिएको छ ।’
यसबाट बच्न संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यानलगायत सामान अरुले प्रयोग नगर्ने, पटकपटक हातमुख धुने, संक्रमित व्यक्तिको नजिक नजाने, कालो चश्मा लगाउने, आँखा जाँच गराएर चिकित्सकको परामर्शअनुसार औषधिको प्रयोग गरेमा यो रोगबाट सुरक्षित हुन सकिने अर्यालले बताए ।