काठमाडौं- सांसद तथा मेडिकल कलेज सञ्चालक डा. सुनील शर्मालाई थुनामा नराख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका शर्मालाई शुक्रबार जिल्ला अदालत काठमाडौंले थुनामुक्त गर्न आदेश दिएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश डण्डपाणि शर्माको इजलासले थुनामा नराखिकन शर्माविरुद्ध अनुसन्धान गर्न पनि केन्द्रीय अनुसन्धान ब्युरोको नाममा आदेश दिएको छ ।
प्रहरीले उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएपनि बहसपछि रिहा गर्न आदेश दिएको हो । शर्मालाई बिहीबार राजधानीको गोल्फुटारबाट पक्राउ गरेको थियो । यो प्रकरणमा ८ जनालाई ब्युरोले पक्राउ गरेपनि शर्मालाई भने रिहा गर्न आदेश दिएको हो । अन्य अभियुक्तविरुद्ध भने ५ दिनको म्याद थप भएको बताइएको छ ।