गोरखा- जिल्ला प्रशासन कार्यालय गोरखाले आजदेखी बिद्युतीय राहदानी कार्यालयबाट नै निशुल्क भरिदिने भएको छ । प्रशासनले सूचना जारी गर्दै जेष्ठ नागरिक र शारीरिक रुपमा फरक क्षमता भएकाहरु र नाबालकलाई कार्यालय आफै फारम भरीदिने जनाएको हो ।
प्रशासनले जारी गरेको सूचनामा ‘जेष्ठ नागरिक, शारीरिक रुपमा फरक क्षमता भएका र नाबालकहरुको लागि यस कार्यालयको कोठा नं.११० बाट निशुल्क अनलाइन फर्म भर्ने ब्यवस्था मिलाएको’ भनिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पुस्कर रानाद्वारा हस्ताक्षरित सूचना बमोजिम भाद्र ११ गते सोमबारदेखी जेष्ठ नागरिक, शारीरिक रुपमा फरक क्षमता भएका र नाबालकहरुले अबदेखी प्रशासन कार्यालयबाट नै निशुल्क रुपमा फारम भर्न पाउने छन् ।
यस अघि भने उक्त समूहका सर्व साधारणहरुले बाहिरबाट फारम भर्दा १ हजारदेखी १ हजार ५०० रुपैयाँसम्म शुल्क तिर्न बाध्य भएका थिए । जिल्ला प्रशासन कार्यालयले जेष्ठ नागरिकको हकमा बिद्यूतीय राहदानी फारम निशुल्क भरिदिने कार्यको जेष्ठ नागरिक संघ गोरखाले स्वागत गरेको छ । अध्यक्ष मोहनलाल श्रेष्ठले सम्मान स्वरुप जेष्ठ नागरिकलाई प्रशासनले दिने यो सेवाको प्रसंशा गर्नुभयो ।