जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रमुख राजनीतिक दलहरु पनि आफैंले ल्याएको शासन व्यवस्थासँग डराएको टिप्पणी गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कोतपर्व, भण्डारखाल पर्वजस्ता हिंसात्मक घटनाबाट प्रधानमन्त्री बनेका जंगबहादुर राणा आफैं सेतो बाघसँग डराएको भन्दै प्रमुख राजनीतिक दलहरु पनि आफैंले ल्याएको शासन व्यवस्थासँग डराएको टिप्पणी गरेका हुन् ।
‘जंगबहादुर राणाले रगतको आहलमा खेलेर आफ्नो राज्यव्यवस्था ल्याएका थिए । अन्तिममा आफैं सेतो बाघबाट त्रसित हुनुपरेको थियो’, राउतले भने, ‘…त्यस्तै नै अहिलेको शासन व्यवस्था ल्याउनेहरु नै त्रसित भएको अवस्था, सेतो बाघ नै देख्ने अवस्था सिर्जित भएको देख्छु ।’
‘दुई जना युवाले रोजगारी माग्दा मेरो व्यवस्था ढाल्न आयो कि भनेर सेतो बाघ देख्छ, धोती लाउँदा पनि षड्यन्त्र देख्छ । मधेश प्रदेशका शिक्षा मन्त्रीले प्रमुख अतिथिलाई फुल दिन जाँदा पनि गठबन्धन भत्काउन लाग्यो भनेर गृहमन्त्रालयले आदेश दिएर टाउको फुटाउनेसम्मको काम गर्छ’, राउतले भने ।
उनले अगाडि भने, ‘शासक वर्ग चारै तिर आफ्नो शासन व्यवस्था ढाल्न आयो कि भनेर त्रर्सित भएको देखिन्छ । त्यस्तै जंगबहादुरको हविगत देख्न नपरोस् ।’
अध्यक्ष राउतले सरकारलाई जनतामा निराशा रहेको बुझ्न आग्रह गरे । ‘म पनि सरकारमै छु । गठबन्धनको बैठकमा जाँदा कतैपनि जनसरोकारको मुद्दाहरुमा छलफल भइराखेको छैन ।’
राजनीतिक पार्टीको बैठक होस कि गठबन्धनको बैठक होस् सरकारमा कसरी टिक्ने, गठबन्धनलाई कसरी टिकाउने, कसरी विरोधीहरुलाई समाप्त पार्ने, कसरी प्रतिस्पर्धीहरुलाई समाप्त पर्ने भन्ने विषयहरुमा छलफल हुने गरेको राउतले टिप्पणी गरे ।