नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको सरकारले सकारात्मक काम गर्न नसकेको बताएका छन्।
विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग उनले दुई ठूला दल मिलेर बनेको सरकारले काम गर्न नसकेका कारण सय दिन समीक्षा गर्न लायक नरहेको बताए ।
‘दुई वटा पार्टी मिलेर निरंकुशतामा जाने संकेत सरकारले गइरहेको छ, अन्य राजनीतिक पार्टीलाई हस्तक्षेप गर्न, विभाजन गर्न अध्यादेश ल्याउने तयारी गरेको चर्चा पनि छ,’ उनले भने, ‘हामीले भ्रष्टाचार विरुद्ध अभियान चलायौँ । तर, अहिले सरकारको त्यो काम अगाडि बढाएको छैन ।’
उनले माओवादी केन्द्रको ध्यान अहिले सरकारतिर नभएको बताए । ‘सरकार चलेन, सरकारले सङ्कट नै ल्यायो भने हामीले सोच्ने कुरा हो । तर, हामी आफूले चाहिँ सरकार कहिले ढाल्ने र सरकारमा जाने भन्ने सोचेको पनि छैनौँ,’ उनले भने ।