सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले नेपालका माओवादीहरूले 'जनयुद्ध' बेचेर खाइसकेको टिप्पणी गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्र माओवादीले रूकुम, रोल्पाबाट हुँकार गरेर, सिंहदरबार कब्जा गरेर, नारायणहिटी कब्जा गरेर, नेपाली सेनालाई पराजित गरेर नआएको बताए।
उनले मुलुकमा जनताको बहुदलीय जनवादकै बाटोबाट क्रान्ति सम्पन्न भएको बताए।उनले २०६५ साल जेठ १५ गते ६०१ जना सांसदमध्ये ५९६ जना प्रतिनिधिले भोट गरेर राजतन्त्र फालिएको बताए।
शान्तिपूर्ण ढंगले मुलुकमा क्रान्ति सम्पन्न भएको कुराले माओवादीको जनयुद्ध गलत थियो भन्ने कुराको पुष्टि भएको जिकिर गरे। उनले माओवादी हिंसा भन्ने शब्दबाट डराएर किन भागिरहेको छ? भन्दै प्रश्न गरे।
जुन कम्युनिष्ट पार्टीको हातमा हतियार हुँदैन त्यो कम्युनिष्ट पार्टी हुँदैन भन्ने माओवादी अहिले कम्युनिष्ट पार्टी हो कि होइन? भन्दै प्रश्न गरे।
माओवादी केन्द्र नाम राखेको भए पनि माओवाद सही हो भनेर भन्न नसकेको बताए।
मन्त्री गुरूङले भने, ‘२०६५ साल जेठ १५ गते पहिलो संविधान सभाको पहिलो बैठक बसेको थियो। त्यो पहिलो बैठकले मुलुकमा अब राजतन्त्र चाहिँदैन भनेर निर्णय गरेको हो।
राजतन्त्र माओवादीले रूकुमबाट वा रोल्पाबाट हुँकार गरेर, सिंहदरबार कब्जा गरेर, नारायणहिटी कब्जा गरेर, नेपाली सेनालाई पराजित गरेर क्रान्ति सम्पन्न भएको होइन, यो मुलुकमा। यो मुलुकमा जनताको बहुदलीय जनवादकै बाटोबाट क्रान्ति सम्पन्न भएको हो।
सामन्तीवाद, त्यसका नायिके राजतन्त्र, राजसंस्था हामीले बुलेटबाट होइन, ब्यालेटबाट पराजित गरेका हौं। ६०१ जना सांसदमध्ये १ जना सभाध्यक्ष भइहाले। ५९६ जनाले राजतन्त्र चाहिँदैन, गणतन्त्र, लोकतन्त्र चाहिन्छ भनेर मत हालेर आएको हो। कमल थापाका ४ जना थिए, उनीहरूले राजतन्त्र चाहिन्छ, गणतन्त्र चाहिँदैन भने।
त्यसकारणले भोटबाट शान्तिपूर्ण ढंगले मुलुकमा क्रान्ति सम्पन्न भएको कुराले माओवादीको जनयुद्ध गलत थियो भन्ने कुराको पुष्टि हुन्छ।’
उनले अगाडि भने, ‘माओवादी हिंसा भन्ने शब्दबाट डराएर किन भागिरहेको छ? माओवाद भन्ने शब्दबाट किन डराएर भागिरहेको छ। जनयुद्ध त उनीहरूले बेचेर खाइसके। हामीलाई भनेका होइनन् तिनीहरूले क्रान्तिको बेलामा? जसको आफ्नो सेना हुँदैन, त्यो कम्युनिष्ट पार्टी हुँदैन। जुन कम्युनिष्ट पार्टीको हातमा हतियार हुँदैन त्यो कम्युनिष्ट पार्टी हुँदैन।
एमाले संसदीय दलदलमा फसिसक्यो, एमाले कम्युनिष्ट पार्टी होइन। मलाई कम्युनिष्ट होइनन् भनेर एक जनाले सर भन्थे। तर आज उहाँहरूसँग सेना छैन, उहाँहरू कम्युनिष्ट पार्टी हो कि होइन? हामीले त भनेका थियौँ, सेना बनाउने कुरा, हतियार उठाउने कुरा समाज र परिस्थिति अनुसार हुन्छ।’
मन्त्री गुरूङले माओवादीको औचित्य अहिलेको विश्वमा समाप्त भएको बताए।
न्युज एजेन्सी नेपाल