काठमाडौँ। सत्तारुढ दल नेकपाभित्र देखिएको आन्तरिक विवाद समाधानको मस्यौदा तयार गर्न गठित कार्यदलप्रति वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले आशंका व्यक्त गरेका छन्।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमतिअनुसार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो।

तर ओली र प्रचण्डबीच भएको गोप्य सम्झौतालाई औपचारिकता दिन मात्रै कार्यदल गठन गरिएको हुनसक्ने नेपाल निकट एक स्थायी समिति सदस्यले जानकारी दिए ।

‘प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच कुनै गोप्य सम्झौता भएपछि त्यसलाई औपचारिकता दिन मात्रै कार्यदल बनाएको हो कि भन्ने शंका शीर्ष नेताहरुमै छ,’ ती नेताले भने, ‘त्यो सम्झौतालाई अनुमोदन गर्न मात्रै कार्यदल बनाइएको हो भने त्यसको विरोध हुन्छ। कार्यदलबाट कस्ता कुरा आउँछन्, हामीले उठाउँदै आएको माग कति सम्बोधन हुन्छ, त्यसको आधारमा समर्थन र विरोध हुन्छ।’

कार्यदल गठनबाट पार्टीभित्र सहमति जुटाउने एउटा विकल्पको आशा जागेपनि आशंका पनि उत्तिकै रहेको उनको भनाइ छ।

उपाध्यक्ष गौतमले त सोमबारको सचिवालय बैठकमै कार्यदलको औचित्य र कार्यक्षेत्रमाथि प्रश्न उठाएका थिए।

उपाध्यक्ष गौतमले अहिलेका समस्याहरु सचिवालयबाट सिर्जना भएको भन्दै त्यही निकायबाट समाधान खोज्नुपर्ने बताएका थिए।

‘समस्या सचिवालयबाटै सुरु भएको हो। समाधान पनि सचिवालयबाटै खोजिनुपर्छ। यसले हामी असफल भएको सन्देश गएको छ,’ बैठकमा उपाध्यक्ष गौतमले भनेका थिए, ‘कार्यदलले राजीनामा दिनुपर्छ भन्यो भने के गर्ने? राजीनामा दिने? यो कार्यदल सचिवालयभन्दा माथि छ कि तल छ?’

कार्यदल गठनको प्रक्रियाप्रति सचिवालयका सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका थिए।