नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालय अन्तरगतको कोभिड-१९ स्वयंमसेवीले गोरखामा चाडपर्व केन्द्रित कोभिड-१९ सचेतना अभियान सुरु गरेको छ।
यस अभियान अन्तरगत गोरखा सदरमुकामको हरमटारी चोक, बार्हकिलो र पालुङटारमा सहायता कक्ष (help desk) सञ्चालनमा ल्याएको हो। बालाजु बसपार्क क्षेत्रबाट शुरु गरिएको यो अभियान हाल गोरखासम्म विस्तार भएको छ।
त्यसैगरी गोरखाका सबै स्थानीय तहका जनप्रतिनिधि र प्रत्येक घर घरमा चाडपर्वको शुभकामनासहित कोभिड-१९ सचेतनामुलक प्रचार सामग्रीहरु वितरण गर्ने कार्यक्रम रहेको सीभिले जनाएको छ। सोमबार गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई लगायत जिल्लाका सबै कार्यालय प्रमुखलाई भेट गरी सीभियसले आफ्नो बारेमा जानकारी गराएको अभियन्ता विकास ढकालले बताए।
कोभिड संक्रमणको जोखिमबाट सुरक्षित रहि चाडपर्व मनाउन जनहितका लागि सीभियस्ले सार्वजनिक अपिल समेत गरेको छ। सीभियस्ले आफ्नो स्थापना भएपछि कोभिड-१९ उपचार सम्बन्धि प्रक्रिया र उद्धारमा सहयोग, समन्वय र सहजीकरण गर्दै आइरहेको छ।
यस अभियानमार्फत् सीभियस्को सहजीकरणमा हालसम्म २०० भन्दा बढीको पीसीआर टेस्ट गरिएको, १५ जनालाई आइसोलेसन व्यवस्थापन गरिएको तथा बेरोजगार भई विदेशबाट नेपाल आउनका लागि सम्पर्क गर्ने ५ जनालाई नेपाल फर्कन सहयोग गरेको, विदेशमा मृत्यु भएका नेपालीको शव नेपाल ल्याउन सहजीकरण गरेको सीभियस्का संयोजक इन्द्रराज भट्टराईले बताए।