नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टीमा संकट उत्पन्न भएको आरोप लगाएका छन् ।
पोखरा लेकसाइडस्थित माउण्ट कैलाश होटलमा भएको एक कार्यक्रममाउनले नेकपाभित्रको अन्तरद्वन्द्व ओलीको अहम् र मैले भनेपछि जे पनि हुन्छ भन्ने भ्रमकै उपज भएको समेत बताए।
साथै उनले सजिलो प्रक्रियाबाट अहिले पार्टी विभाजन सम्भव नभएको बताएका छन्। ‘अहिले नेता, कार्यकर्ता, विद्यार्थी, युवा, मजदुरमा पार्टी विभाजन के होला भन्ने छ । अहिलेकै अवस्थामा सजिलो प्रक्रियाबाट पार्टी फुट्दैन,’ पाण्डेले भने, ‘४० प्रतिशत केन्द्रीय सदस्य र ४० प्रतिशत सांसद नभएसम्म पार्टी फुट्दैन । यति ओलीसँग छैन ।
आफूहरु पार्टी एकताको पक्षमा रहेको पाण्डेको भनाइ छ । अहिलेकै अवस्थामा विभाजन नहुने र यदि विभाजन भयो भने ओलीले ल्याएको अध्यादेशमार्फत हुनसक्ने पाण्डेले बताए । सरकार ठिक ढंगले चल्नुपर्छ भन्दा ओली पार्टी फुटाउन उद्दत भएको पाण्डेको भनाइ छ ।
‘कसैले बच्चा जन्माएपछि, होइन मन परेन भनेर पेटमा फर्काएर राख्छु भन्न मिल्छ,’ पाण्डेले भने, ‘पार्टीको पनि त विधि र प्रक्रिया हुन्छ होला नि ।’ पार्टीबाट निर्वाचित प्रधानमन्त्री गलत ढंगले चलेको बताउँदै पाण्डेले पार्टी विभाजन हुन प्रक्रियाले पनि नदिने भनाइ राखे ।