प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई भावी प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् ।
नेकपा स्रोतका अनुसार पहिले प्रधानमन्त्री भइसकेकाहरु नै फेरि किन प्रधानमन्त्री हुनुपर्यो ? भन्दै उपाध्यक्ष गौतम तर्फ नजर घुमाउँदै अर्को चुनावपछि अहिलेसम्म अवसर नपाएकालाई प्रधानमन्त्री बनाउनुपर्ने बैठकमा बताए । प्रधानमन्त्री ओलीले वर्तमान सरकार आगामी चुनावसम्म जाने बताउँदै आफूले पद नत्याग्ने दोहोर्याए ।
प्रधानमन्त्रीले यसो भनेर सचिवालयका अधिकांश सदस्यहरुले माग गरे झैं आफूले पद त्याग गर्नका लागि नभएर आगामी निर्वाचन पछि बन्ने सरकारको नेतृत्वको कुरा गरेको नेकपाका नेताहरु बताउँछन् । उनले यसरी पटक पटक निर्वाचन र महाधिवेशन पछिका पदहरु बाँड्दै हिँड्ने पुरानै शैली अपनाएको भन्नेहरुमा कम छैनन् ।
विगतमा पनि प्रधानमन्त्रीको आश्वसन पछि उपाध्यक्ष गौतमले प्रम ओलीलाई फाइदा पुग्ने अभिव्यक्ति दिने गरेका थिए । त्यसो त प्रम ओलीले पनि उपाध्यक्ष गौतमलाई भेट्न आकस्मिक रुपमा भैसेपाटी पनि पुगेका थिए । प्रम ओलीको आजको आश्वासनले उपाध्यक्ष गौतमको ओलीप्रति सहानुभूति दर्शाउने अभिव्यक्ति आउने त होइन ? राजनीतिक वृतमा चर्चा हुन थालेको छ ।