काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले एक सातामै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी थालेका छन्।

नेकपाभित्र केहि महिनादेखि बल्झिइरहेको विवाद समाधानतर्फ अघि बढेपछि मन्त्रिमण्डलको पुनर्गठनका लागि पनि आधार तयार भएको प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ।

हेरेफेर हुनेमा उपप्रधान एवंम रक्षामन्त्री ईश्वर पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव, वनमन्त्री शक्तिबहादुर बस्नेत, स्वास्थ्यमन्त्री भानुभक्त ढकालकाे संकेत स्राेतकाे छ ।

प्रधानमन्त्री ओलीले पार्टीमा धेरै विवाद देखिएपछि दुई साताअघि नै प्रचण्डलाई आफूले भदौ १ गतेपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने र त्यसबेला धेरै मन्त्रीको जागिर जाने जनाउ दिएका थिए ।

स्रोतका अनुसार प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादललाई हटाएर जनार्दन शर्मालाई गृहमन्त्री बनाउनुपर्ने अडान लिएका छन् । तर, प्रधानमन्त्रीले बादललाई उपप्रधानमन्त्रीमा बढुवा गर्ने तयारी थालेको बुझिएको छ । उपप्रधानमन्त्री पोखरेलको ठाउँमा बादललाई ल्याउने तयारी भएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अब मन्त्रीमण्डल पुनर्गठन गर्दा राज्यमन्त्री नराख्ने योजना बनाएका छन्। केहि मन्त्रालय विभाजन गर्ने र केहिलाई गाभ्ने तयारी पनि गरिएको छ।

‘राज्यमन्त्री नराख्ने र केही मन्त्रालयको संरचना परिवर्तन गर्ने विषयमा प्रधानमन्त्री छलफलमा हुनुहुन्छ,’ स्रोतले भन्यो।

उता प्रदेशका मुख्यमन्त्रीहरु समेत परिवर्तन गर्ने भएकोले त्यसबारेमा पनि अब बस्ने सचिवालय बैठकमा छलफल हुने संभावना रहेको एक सचिवालय सदस्यले बताए।

नेकपाको सचिवालय बैठक भोलि (सोमबार) बस्दैछ।

२०७४ साल फागुन ३ गते ओली प्रधानमन्त्रीमा निर्वाचित भएयता मन्त्रिपरिषदमा ११ पटक हेरफेर तथा थप भइसकेको छ।