गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा ढिँडो खाने प्रतियोगिता हुने भएको छ।गुरुङ समुदायको बाक्लो बस्ती रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा तमु ल्होसारको अवसरमा बुधबार ढिँडो खाने प्रतियोगिता हुन लागेको हो।
तमु ह्युला छोंज धिको आयोजनामा ढिँडो खाने प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष मनराज गुरुङले बताए।
‘यो हामी सुन्दै आएको भन्दा फरक खाले प्रतियोगिता हो। सहभागीले जति छिटो र धेरै ढिँडो खान सक्छन् उही विजेता हुनेछ’, उनले भने। ढिँडो खाने प्रतियोगिताले किसानलाई कोदो उत्पादनमा हौस्याउने उनको भनाइ छ।
‘पछिल्लो समय कोदोको उत्पादन घटिरहेको छ तर माग भने बढ्दो छ। निकै पौष्टिक आहार मानिने कोदोको परिकार घरवासदेखि तारे होटलसम्म माग हुने गर्दछ’ उनले भने।
ल्होसारको अवसरमा यहाँ डोरी तान्ने, घैँटो फुटाउने, छेलो हान्ने, गाउँस्तरीय भलिबल प्रतियोगिता पनि आयोजना गरिएको छ।
वडाध्यक्ष गुरुङका अनुसार फिरफिरेमा रहेका आठ गाउँलाई आठ समूहमा विभाजन गरी फरक–फरक खानाको परिकारसहित सामूहिक भोजन हुनेछ।ल्होसारको अवसरमा मौलिक घाटु, सालैजो, ठाडो भाका, कौराहा प्रदर्शन हुने वडाध्यक्ष गुरुङले बताए।