काठमाण्डौ - भूमिगत समूहको नेतृत्व गरेका विप्लव समूहले वैद्य माओवादीसँग कार्यगत एकता गर्न छलफल गरिरहेको समाचार प्राप्त भएको छ ।
जनयुद्ध दिवसको सन्दर्भ पारेर १ फागुनमा त्यससम्बन्धी घोषणा गर्ने वैद्य–विप्लवको तयारी रहेको स्रोत बताउँछ ।
वैद्य अध्यक्ष र विप्लव कार्यकारी अधिकारसहित महासचिव हुने भनेर छलफल भइरहेको स्रोत बताउँछ । तर, पार्टीमाथि प्रतिबन्ध लागेका कारण दुई पक्षबीच एकतामा अवरोध भएको दुवै पक्षको बुझाइ छ । त्यसैले नेता मोहन वैद्य ‘किरण’ लगायतले पनि सरकारसँग वार्ताका लागि पहल गरिरहेको सरकारी स्रोतको दाबी छ ।
सिधै विप्लवसँग वार्ता गर्ने ओलीको तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिगत समूहको नेतृत्व गरेका विप्लवसँग सम्पर्क गरि वार्ता गर्ने प्रयास गरेको थाहा हुन् आएको छ । उनले विप्लव सम्पर्क गर्न विभिन्न च्यानल प्रयोग गरेका छन् ।
यसका लागि प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्रहरुलाई जिम्मेवारी दिएका छन् । बालुवाटारका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रदीप ज्ञवालीलगायतलाई यसमा समन्वय गर्न भनिएको सरकारी स्रोत बताउँछ ।
ओली पक्षमा लागेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि छुट्टै टोली परिचालन गरेका छन् । यसमा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई पनि लागि परेका छन् ।
स्रोतका अनुसार सरकारले विप्लव समूह छाडेका नेताहरुको माध्यमबाट पनि समूहसँग अनौपचारिक सम्वादलाई अघि बढाइरहेको छ । स्रोतका अनुसार विप्लव समूह परित्याग गरेका नेता गुणराज लोहोनी लगायतमार्फत समेत सम्वादको प्रयास भइरहेको हो ।
हिरासतमा रहेका धर्मेन्द्र बाँस्तोलामार्फत पनि समूहका शर्तहरुबारे बुझ्ने काम भइरहेको स्रोत बताउँछ । यसमा सुरक्षा निकायले पनि समन्वयकारी भूमिका निभाइरहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।