काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले संसद् विघटन गर्दै निर्वाचन घोषणा गर्नुको पछाडी नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउने तथा संघीयता खारेज गर्ने विदेशिको गम्भीर षड्यन्त्र अन्तर्गत चालिएको कदम भएको बताएका छन्।
कार्तिकमा निर्वाचन पनि नहुने दाबी गर्दै गुरुङ भन्छन्, ‘संविधान निष्क्रिय भएको अवस्थामा निर्वाचन हुन हुँदैन। निर्वाचन नभएपछि यो संविधान विफल भयो भन्ने बहाना हुन्छ। त्यसपछि संविधानका अन्तरवस्तुहरूका बारेमा जनमत सङ्ग्रह गरेर मात्रै संविधानलाई क्रियाशील गराउन सकिन्छ भनेर मुलुकलाई जनमत सङ्ग्रहमा लगिँदैछ। त्यो तयारी भइरहेको छ।’
जनमतसंग्रह मार्फत अहिलेको संविधानका अन्तरवस्तुहरु धर्मनिरपेक्षता र संघियता सिध्याउन लागिएको गुरुङले बताए। उनले भने, ‘हिन्दुराज्य कामय राख्ने कि? धर्मनिरपेक्ष राख्ने कि? सङ्घीयता राख्ने कि नराख्ने के गर्ने भन्ने विषयको तयारी भइरहेको छ। त्यो जनमत सङ्ग्रह गर्दा धाँधली, तिक्डम र षड्यन्त्र गरेर संविधानको अन्तरवस्तु के बनाउनुपर्ने छ, त्यो गराउने र संविधान संशोधन गराउने योजना हो। अन्तरवस्तु २०४७ सालको संविधान फर्काउने हो। रूप २०७२ को संविधान तर सार २०४७ को बनाउने योजनामा यो सबै षड्यन्त्रहरू भइरहेको छ।’
संसद विघटन नेपालको संविधान सिध्याउने षड्यन्त्रको सुरुवात भएको पनि गुरुङले दाबी गरे। उनले भने, ‘नेपालको संविधान सिध्याउने, समाप्त गर्ने, खारेज गर्ने षड्यन्त्र विधिवत् सुरुवात हुँदैछ भन्ने प्रस्ट सङ्केत गरेको छ। किनभने सदन समाप्त गर्नेबित्तिकै संविधानका सबै धारा, उपधारा सबै निष्क्रिय हुन्छन्। अब राष्ट्रपतिको अध्यादेशको आधारमा देश चलाउन खोजिँदैछ। संविधान अध्यादेशमा जानु भनेको संविधान निष्क्रिय हुनु हो।’