नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले नयाँ पार्टी खोल्ने भएका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीका कारण नयाँ पार्टी खोल्नुपर्ने अवस्थामा पुगेको बताए ।
‘केपी शर्मा ओलीले धकेलेर त्यतै पुर्याउँदै हुनुहुन्छ । अर्को पार्टी खोल्न बाध्य पार्दै हुनुहुन्छ,’ उनले भने ।
प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमविरुद्ध राजनीतिक र कानुनी संघर्ष गर्ने स्थायी कमिटीको निर्णय पनि सुनाए ।
‘ओलीजीको प्रतिगमनविरुद्ध राजनीतिक र कानुनी दुवै लडाइँमा जाने हाम्रो स्थायी कमिटीको निर्णय नै छ । शनिबार पनि बैठक बसेको थियो, उहाँको अलोकतान्त्रिक कदमविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छौं,’ उनले भने।
पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलको औचित्य पनि सकिएको उनले स्पष्ट पारे ।
‘त्यो कार्यदलको औचित्य उहाँले सिध्याइदिनुभयो । यत्रो कार्यदल बनेको छ, सरसल्लाह गर्नुपर्दैन ? सोध्दै नसोधी संसद् विघटन गर्ने? केही सल्लाह गर्नुपर्दैन ? अध्यादेश ल्याउनुअघि केही सल्लाह गर्नुपर्दैन ?’ नेता नेपालको प्रश्न छ ।
एमाले नेता बामदेव गौतमले केहि दिन अघि विज्ञप्ति जारी गर्दै नेपाल समूहले नयाँ पार्टी खोले आफूले साथ दिने बताएका थिए । गौतम अध्यक्ष ओलीसँग निकै रुष्ट छन् ।