• सोमवार, श्रावण ११ गते २०८३

यसकारण आजीवन मन मस्तिष्कमा रही राख्नेछन उज्ज्वल थापा

यसकारण आजीवन मन मस्तिष्कमा रही राख्नेछन उज्ज्वल थापा

यसकारण आजीवन मन मस्तिष्कमा रही राख्नेछन उज्ज्वल थापा

  • 3.2K
    SHARES

  • यसकारण आजीवन मन मस्तिष्कमा रही राख्नेछन उज्ज्वल थापा

    काठमाडौँ - विवेकशील नेपाली दलका संस्थापक नेता उज्वल थापाको मङ्गलवार निधन भएको छ। वैकल्पिक राजनीति र युवा नेतृत्वका लागि अभियान चलाएका ४४ वर्षीय थापा कोरोनाभाइरस सङ्क्रमित भएर काठमाण्डूको मेडिसिटी अस्पतालमा केहि दिनदेखि  उपचाररत थिए।

    कहिल्यै लाभको पदमा नपुगेका उनी बिरामी हुँदादेखि मृत्युपश्चात् समेत नेपालीहरूले देखाएको सम्मान र सद्भावले थापा एक जना लोकप्रिय नेता हुन् भन्न सकिन्छ। राजनीतिलाई घृणा गर्ने नेपाली समाजमा थापा कसरि सर्वाधिक लोकप्रिय नेताको रुपमा रहन पुगे भन्ने विषयमा यो आलेख केन्द्रित छ। 

    अमेरिकाबाट नेपाल फर्किएर उद्यमशीलत

     नेपालको एक चर्चित स्कूल बुढानीलकण्ठबाट कक्षा १२ (ओ लेभल) सम्म अध्ययन गरेका थापा त्यसपछि छात्रवृत्तिमा खगोल तथा भौतिक विज्ञान (एस्ट्रोफिजिक्स) अध्ययनका लागि अमेरिका गएका थिए। तर उनी पढाइ छाडेर वेब डिजाइनर बनेर नेपाल फर्किए।

    नेपाल फर्किएका थापाले स्वदेशमा उद्यमशीलतामा हात मात्रै हालेनन् युवाहरुलाई उद्यमी बन्न विभिन्न तवरबाट प्रेरित गरे। सूचना प्रविधिसम्बन्धी कम्पनी खोलेर उद्यमी बन्ने पाइला चालेका उनले कफी खेतीमा समेत लगानी गरेका थिए।

    उनले ' नेपालका लागि उद्योगी ' अर्थात 'Entreprenuers For Nepal' नाम दिएर अभियान सन्चालन गरे जसमा सयौँ नेपाली युवा उद्यमीहरू आबद्ध भए र त्यो युवा उद्यमीको लागि छलफल गर्ने चौतारी बन्यो। अहिले पनि उत्तिकै क्रियाशील अभियानमा लाखौ युवाहरु जोडिएका छन्। 

    खबरदारी र सामाजिक अभियान्ता 

    उद्यमशीलता विस्तार र प्रबर्धनमा सक्रिय थापाले समाजमा मौलाएको राजनीतिक कु संस्कारको विस्तारै विरोध गर्न थाले। दिनानुदिन नेपाल बन्द भनेर आजित भएका केही युवासँग मिलेर थापाले २०६५ सालमा सामाजिक सञ्जालमा 'बन्द विरुद्ध अभियान'का लागि एउटा समूह बनाए।

    उक्त अभियानमा आबद्ध युवाहरू नेपाल बन्द घोषणा भएका दिन "नेपाल खुला छ" भन्ने ब्यानर बोकेर सवारीसाधन चलाएर हिँड्ने गर्थे। राजधानी काठमाण्डूको माइतीघर मण्डलमा उनीहरू बन्दका दिन पनि प्लेकार्ड बोकेर उभिन्थे।

    ujjwal-tweet.png

    त्यसपछि जन्मियो विवेकशील दल 

    त्यसको एक वर्ष जति पछि थापाकै सक्रियतामा युवाहरूले 'परिवर्तनका लागि हामी नेपाली एक' अभियान सुरु गरे। संविधानसभा गठन भएको लामो समय भइसक्दा पनि संविधान बन्न नसकेको अवस्था थियो त्यो।

    उनीहरूले सामाजिक सञ्जालदेखि सडकसम्म 'ज्याला पूरा लियौ, अब संविधान देऊ' भन्ने नारा लगाए।तर त्यस्ता अभियानले मात्र समाजमा परिवर्तन ल्याउन सम्भव नदेखेपछि आफूहरूले राजनीतिमै प्रवेश गर्नुपर्छ भन्ने सोच थापाले बनाए। त्यसपछि उनले विसं २०६९ विवेकशील नेपाली भन्ने समूह बनाए।

    पहिलो संविधानसभा विघटन भएपछि दोस्रो संविधानसभाको निर्वाचन हुने भयो । उनीहरूको समूह चुनाव लड्न तयार भयो । स्वतन्त्र उम्मेदवारको रूपमा उनीहरूले कुकुर चिह्न लिए । काठमाडौं– ५ बाट थापा आफैँ, ४ बाट सन्तोष प्रधान, १ बाट गोविन्द नारायण र ८ बाट पुष्कर बमले उम्मेदवारी दिए । तर, उनीहरूको समूहबाट कसैले पनि चुनाव जितेन । त्यतिवेला थापाले तीन हजार मत मात्रै प्राप्त गरेका थिए ।

    थापाले ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि भाग लिएका थिए । त्यतिवेला उनले नेतृत्व गरेको विवेकशील र रवीन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टी एकता भइसकेको थियो र विवेकशील साझा पार्टी बनेको थियो । यही पार्टीबाट उनले एमालेका महासचिव ईश्वर पोखरेल र कांग्रेस महामन्त्री नेता प्रकाशशरण महतसँग प्रतिस्पर्धा गरे, काठमाडौं– ५ मा । तर, पुनः पराजित भए ।

    दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण

    नेपाली राजनीतिको मुख्य समस्या भनेको दलका नेताहरू आफूले ओगटेको पद नछाड्ने हो । तर, उनले सहजै नेतृत्व हस्तान्तरण गरेर अर्काे उदाहरण प्रस्तुत गरेका थिए । 

    उनी विवेकशील नेपालीको संस्थापक अध्यक्ष थिए । गत साल उनले मैले सकेजति गरेँ । अब, अझ जुझारु, अझै ऊर्जाशील नेतृत्व अगाडि आओस्  भन्दै आफू नेतृत्वमा नबस्ने घोषणा गरे । नयाँ पुस्तालाई ठाउँ उपलब्ध गराउनुपर्ने उनको तर्क थियो । त्यसपछि नै नयाँ अध्यक्षका रूपमा आएका थिए, मिलन पाण्डे । 

    उनै थापा ४४ वर्षको अल्पायुमै संसारबाट बिदा भए। उनले देखेका सपनाहरु पुरा गर्ने जिम्मेवारी हरेक विवेकशील नेपालीमा छ। हार्दिक श्रद्धाञ्जलि !

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology