काठमाडौं - पुनर्गठित मन्त्रिमण्डलमा सहभागी हुन हृदयेश त्रिपाठीले अस्वीकार गरेका छन् । उनले आफूभन्दा जुनियरहरूलाई उपप्रधानमन्त्री बनाएको भन्दै मन्त्री पद अस्वीकार गरेका हुन् ।
त्रिपाठी यसअघि स्वास्थ्यमन्त्री रहेका थिए । उनलाई मन्त्रीमा दोहोर्याउने ओलीको इच्छा भएपनि उपप्रधानमन्त्रीमा राजनीतिक रुपमा आफूभन्दा जुनियर राजेन्द्र महतो, रघुवीर महासेठ र विष्णु पौडेललाई वरियता क्रममा माथि राखिएकाले आफुले मन्त्री पद अस्वीकार गरेको बताए ।
जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागेको छ । महतो उपप्रधान तथा शहरी विकास मन्त्री हुनेछन् ।
पुनर्गठित मन्त्रिमण्डलमा राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित उद्योगमन्त्री, शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, अनिलकुमार झा शहरी विकास मन्त्री, विमल श्रीवास्तव खानेपानी मन्त्री र उमाशंकर अरगरिया युवा तथा खेलकुद मन्त्री बन्ने टुंगो लागेको थियो ।
जसपाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उद्योग, वाणिज्य, वाणिज्य तथा आपूर्ति मन्त्रालय, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय पाउने भएको हो ।
जसपाले दुई राज्यमन्त्री पनि टुंगो लगाएको छ । चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुनेछन् ।