काठमाण्डौ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुराना माओवादी एकताको प्रसंग पटक पटक निकाल्ने गरेका छन्। महाधिवेशनको पूर्व सन्ध्यामा प्रचण्डले हिजो मात्रै पार्टीको टुटफुटको विषयलाई लिएर गम्भीर आत्मसमिक्षा गर्ने वताएका थिए।
१० वर्षे जनयुद्धलाई हाकेको विशाल माओवादि अहिले विभिन्न समूह र पार्टीमा टुट फुट भएको छ। धुजा धुजा भएको छ। दार्शनिक नेता भनेर चिनिने मोहन बैद्धले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी शर्त सहित पूर्वमाओवादीबीच एकताका लागि तयार भएको छ।
नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पूर्वमाओवादीबीच एकताका लागि तीनवटा शर्त अघि सारेका छन् । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै गजुरेलले जनयुद्धपूर्वको केन्द्रीय समितिले गरेका प्रतिबद्धता स्मरण गर्न आग्रह गरे ।
उनले जनयुद्धपूर्वको माओवादी केन्द्रीय कमिटीको बैठकको प्रतिबद्धता पालना गर्नुपर्ने , जनयुद्धको लक्ष्यअनुसार जनगणतन्त्र स्थापनाका लागि तयार हुनुपर्ने, एमसीसीलगायतका सम्झौता खारेजी र नेपाली भूमि फिर्ताको पक्षमा निर्णय गर्नुपर्ने प्रस्ताव गरे ।
‘जनगणतन्त्र स्थापनाको लक्ष्य पूरा गर्ने र राष्ट्रिय स्वाधीनताका पक्षमा उभिने निर्णय यो महाधिवेशनबाट गर्नुहोस् । तबमात्रै माओवादी एकताका लागि छलफल गर्ने ढोका खुल्छ’, उनले भने ।