काठमाडौं । केही समय अघि महानायक राजेश हमाल एमालेमा प्रवेश गर्न लागेको हल्ला सर्वत्र फैलियो । मुलधारका सञ्चार माध्यमहरुले पनि प्राथमिकताका साथ सो समाचार सम्प्रेषण गरे । पछिल्लो समयको घटनाक्रम नियाल्दा कलाकारले पार्टीमा प्रवेश गरिरहेको माहोल देखिन्थ्यो । धेरैले राजेश हमाल एमालेमा प्रवेश गर्न लागेको अफवाह मात्रै ठाने त केहीले सिनारियो हेर्दा प्रवेश गर्न लागेकै हुन्न भनेर मिडियाका हेडलाईनलाई बिश्वास गरे ।
चुनाव नजिकिँदै जाँदा पार्टी प्रवेश अभियान चलाइरहेका एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय कलाकारहरूतिर पनि नजर दौडाइरहेका छन् । हालै अभिनेत्री करिश्मा मानन्धरलाई पार्टीमा भित्र्याएका उनी आज अभिनेता राजेश हमालसँग बातचित गरिरहेका देखिए । तर, यो भेट योजनाबद्ध नभएर आकस्मिक थियो ।
त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा ओलीसहितको एमाले टोलीसँग हमालको छोटो भेट भएको हो । ओली आफ्नो दलबलसहित कपिलवस्तु जाँदै थिए । उनीसँग अभिनेत्री करिश्मा पनि थिइन् । सुरुमा करिश्मा र राजेश हमाल भेटेर गफ गर्ने क्रममा नेताहरू पनि मिसिएका थिए । उनीहरूबिच केही बेर ख्यालठट्टा चलेको थियो ।
स्रोतका अनुसार ओलीले सुरुमा हमाललाई ‘एक्लै कता जाँदै हुनुहुन्छ रु ’ भनेर सोधे । जवाफमा हमालले भने, ‘फलानो ठाउँ जाँदै छु । के गर्नु उहाँलाई करिश्मालाई देखाउँदै तपाईँले लगिहाल्नु भो ।’
ओलीले जवाफ दिए, ‘तपाईँहरूका लागि बाटो खोलिदिएको हो ।’
हमालले एमालेका शुभचिन्तकहरू सबै क्षेत्रमा रहनुपर्ने बताउँदै आफू कलाकारितामै ठिक रहेको संकेत गरे ।