काठमाडौं – नेपाली कांग्रेसभित्र सर्वाधिक आशा गरिएका युवा महामन्त्रीद्धय गगन कुमार थापा र विश्वप्रकाश शर्माकै कुरा बाझिएको छ । स्थानीय तह चुनावमा गठबन्धन गर्नेबारे महामन्त्रीद्धय थापा र शर्मा पूर्वपश्चिमतर्फ उभिएका हुन् । नेपाली कांग्रेसका दुई महामन्त्रीको मत फरक–फरक आएपछि नेताकार्यकर्ताहरुलाई चिन्तित बनाएको छ ।
महामन्त्री गगन थापाले आफू गठबन्धनका पक्षमा नरहेको र यसले कांग्रेसलाई फाइदा नगर्ने बताए। तर अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने आवश्यकताका आधारमा गठबन्धन गरेर जान सकिने बताउँछन्।
आज सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले नयाँ मतदातालाई रूखबाहेक अन्य चिन्हमा भोट हाल्न लगाउँदा अर्को चुनावमा ती मतदाताले रूखमै भोट हाल्छन् कि हाल्दैनन् भन्नेतर्फ सचेत हुनुपर्ने बताएका थिए।
तर महामन्त्री शर्माले भने ०७४ मा पार्टीले धेरै सिट हारेकोले जित्नका लागि आवश्यकताका आधारमा गठबन्धन गर्न सकिने बताएका छन्। कांग्रेसले गठबन्धनबारे भोलि सैद्धान्तिक निर्णय गर्ने तयारी गरेको छ।
महामन्त्री थापाले आफू चुनावी गठबन्धन पक्षमा नरहेको बताएका छन्। केन्द्रीय समिति बैठकमा सोमबार धारणा राख्दै थापाले कांग्रेस समर्थकलाई हँसिया हथौडा र कलममा मत हाल्न लगाउँदा भविष्यमा पार्टी अफ्ठेरोमा पर्ने चेतावनी दिए। भविष्यमा फर्केर शुभेच्छुकले रुखमा भोट हाल्छ भन्ने ग्यारेन्टी के भनेर उनले प्रश्न समेत गरेका थिए।
‘कांग्रेसप्रति मतदाताको आकर्षण छ। हाम्रो समर्थक बनेर आउनेहरुलाई अहिलेदेखि कम्युनिस्टलाई मत हाल्न लगायौं भने आउने दिनमा त्यसलाई कांग्रेसमा कसरी ल्याउने?’ उनले प्रश्न गरे, ‘अहिले कम्युनिस्टलाई भोट हाल्न सिकाएपछि भोलि कसरी ल्याउने?’
गठबन्धन गरेर चुनावमा जाँदा धेरै साथीले टिकट नपाएर चुनाव नै लड्न नपाउने अवस्थातर्फ पनि उनले सचेत गराए। यसले पार्टीमा वितृष्णा बढाउने र आकर्षण घटाउनेतर्फ नेतृत्वको ध्यानाकर्षण गराए। ‘यही रेसियोको आधारमा हामीले संसदीय चुनावमा ९० सीटभन्दा बढी पाउनेवाला छैनौं,’ उनले भने, ‘९० सीटमा हामी को लड्ने र नलड्ने? त्यो अवस्था हामीले कसरी म्यानेज गर्छौं? गठबन्धन गर्दा हाम्रो भित्रको अवस्थालाई पनि म्यानेज गर्नुपर्नेछ। त्यो गर्न सकिरहेका छैनौं,’ उनले भने।
थापाले सत्ता साझेदार नेकपा माओवादी केन्द्रको अस्थिर ढुलमुले चरित्रमाथि पनि प्रश्न उठाउँदै गठबन्धनको भविष्य के हुने भनेर प्रश्न गरे। ‘संसदीय चुनावमा माओवादी रहन्छ भन्ने ग्यारेन्टी के छ? हिजो पनि रहेको हैन। भोलि पनि हामीले एलायन्स ग¥यौं भनेर पोस्ट इलेक्सन एलायन्स हुन्छ भन्ने ग्यारेन्टी के छ ? त्यसको ग्यारेन्टी कसले लिन्छ?’ उनले प्रश्न गरे।
हालै एमसीसीमा झण्डै झण्डै प्रचण्डले एमालेलाई गएर सत्ता सुम्पिसकेको स्मरण गराउँदै थापाले सोधे, ‘भोलि ग्यारेन्टी कसले लिन्छ? हामी नै होइन त्यतिखेर एमालेसँग झण्डै माओवादीको गठबन्धन हुँदै गर्दा एमालेसँग मिलाउन गएको हामी नै होइन? भोलि उसले हामीलाई बोक्छ भन्ने कुनै ग्यारेन्टी छ? यसलाई कांग्रेसले नोट गर्नुपर्छ कि पर्दैन? हामी कमजोर भएर किन जाने ?’
थापाले गठबन्धनको कुरा आउँदा सरकारको डेलिभरीमाथि प्रश्न उठेको भन्दै त्यसको अपजस कांग्रेस उम्मेदवारलाई बोकाउन नहुनेमा जोड दिए। ‘सरकारले डेलिभरी गर्न नसक्दाको अपजस हामीले बोकेर जानुपर्ने अवस्थामा हाम्रो उम्मेदवारले अपजसको बोकेर हिँड्ने कुराहरु उम्मेदवारलाई नदिलाउन आग्रह गरे। ‘किनभने सरकारको डेलिभरीको प्रश्न धेरै उठेको छ,’ उनले भने।
थापाले कम्युनिस्ट मिल्छन् भने मिल्न दिनुपर्ने र त्यसैलाई एजेण्डा बनाएर कांग्रेस एक्लै जनताको माझमा जानुपर्ने धारणा पनि राखे। ‘यदि उनीहरु मिल्छन् भन्ने हाम्रो आशंका हो र मिल्छन् भन्ने लागेको हो भने कम्युनिस्ट मिल्छन्, लोकतन्त्र विरोधी हुन्, संविधान विरोधी हुन् भन्ने एजेण्डा लिएर हामी चुनावमा जाऔं,’ उनले नेतृत्वलाई अनुरोध गरे।