अन्तिम समयमा २ गोल गरेपछि फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ। पीएसजी एटलान्टालाई २-१ ले गोलले हराउदै सेमिफाइनल प्रवेश गरेको हो ।

एटलान्टालाई मारियो पासालीचले पहिलो हाफमा अग्रता दिलाएका थिए । तर अन्तिममा ३ मिनेटको अन्तरमा मार्किन्हस र चुपो मोटीङले गोल गरेपछि पीएसजी विजयी भएको हो ।

खेलको तेस्रो मिनेटमा नै नेयमारले पीएसजीलाई अग्रता दिलाउने सुवर्ण अवसर खेर फाले । लगत्तै अर्कोतर्फ नेयमारले उत्कृष्ट मुभ बनाउँदै तीन डिफेन्डरलाई छलाएर पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो ।

३५ औं मिनेटमा नेयमारले झन्डै ३० यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहारलाई गोलरक्षक स्पोर्टिएल्लोले दोस्रो प्रयासमा बचाए । त्यसको दुई मिनेटपछि नै नेयमारको फ्रिकिकमा रिबाउन्ड आएको बललाई सराबियाले क्रस गरेपनि गोलरक्षक स्पोर्टिएल्लो बाधक बने ।

८० औं मिनेटमा एमबाप्पेको प्रहारलाई पालोमिनोले उत्कृष्ट ट्याकल गर्दै गोलरक्षकसम्म नपुग्दै विफल पारे । ९० औं मिनेटमा पीएसजीले बराबरी गोल फर्कायो । चुप मोटीङको क्रसमा नेयमारको प्रहार डिफेन्डरले रोकेपनि मार्किन्हसले बललाई पोस्ट पार गराएका थिए ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा पीएसजीले विजयी गोल गर्यो । नेयमारको पासमा एमबाप्पेले अफसाइड ट्रयाप बिट गर्दै दिएको पासलाई चुपो मोटीङले गोल गर्दै पीएसजीलाई अन्तिम चार नजिक पुर्याएका हुन् ।