भक्तपुर - नेकपा एकीकृत समाजवादीका नेता एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले एमालेका अध्यक्ष केपी ओलीलाई चुनावपछि आधा किलोको ढक बनाइदिने चेतावनी दिएका छन् ।
भक्तपुरमा आयोजित औद्योगिक, पर्यटन व्यापार मेलाको बिहीवार उद्घाटन गर्दै मन्त्री आलेले यस्तो चेतावनी दिएका हुन् । उनले भने "पाँच पार्टी एक हुँदा पनि ओलीले जुँगा हल्लाउँदै हामीलाई चुनौती दिनु आश्चर्यजनक छ ।' यसअघि ओलीले एक किलोको पाँच वटा ढक एकातिर र एमाले एक क्विन्टलको ढक अर्कातिर भएको टिप्पणी गरेका थिए । जवाफमा उनले भने "निर्वाचन पछि अब आधा किलोको बनाइ दिन्छौँ ।'
आजै काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको जिम्मेवारी लिएसँगै सुधारका धेरै कामहरु भइरहेको बताएका हुन् । उनले आफ्नो मन्त्रालयमा थुप्रै फोहोरका डङ्गुरहरु रहेको उल्लेख गर्दै तिनलाई सफा गरेको बताए । आफू राजनीतिमा सेवाको भावनाले प्रवेश गरेकाले नेपालीको शिर नझुक्ने गरी काम गर्ने बताए ।
मन्त्री आलेले सर्वहारा र श्रमजीवी वर्गको हक हितको पक्षमा आफू सधै उभिने बताए ।