काठमाण्डौ - पछिल्लो समय जनपक्षिय काम गरेर चर्चामा रहेका वर्तमान सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आज दिनभरी फिल्डमा खटिएका छन्।
विहान नारायणहिटी दरबारभित्रको बतास समूहले लिजमा लिएर सञ्चालन गर्न लागेको क्षेत्रको अवलोकन गरे भने दिउसो पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला। रोचक कुरा यी दुवै ठाउहरुमा बतास समूहले गैरकानुनि हिसाबले काम गरिराखेको बताईन्छ।
नारायणहिटीमा अवलोकनका क्रममा आले बंकरभित्र पनि अवलोकन गर्न पुगेका थिए। उनले त्यहाँ मदिरा राख्ने स्थल बनाउन लागेको भन्दै बतास समूहले दुष्प्रयास गरेको अभिव्यक्ति दिए । आक्रोशित मुद्रामा आलेले पुरातात्विक महत्वको सुन्दर क्षेत्रमाथिको दोहन सह्य नहुने बताए ।
निरीक्षणका क्रममा मन्त्री आलेले जथाभाबी बनाइएका संरचना देखेर दु:ख लागेको बताए । उनले आफूहरूले यसबारे छलफल र अनुसन्धान अघि बढाएको पनि जानकारी दिए ।
पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र छानबिन समितिका सदस्यसहित अनुगमनमा पुगेका मन्त्री आलेले धर्मशालाका कतिपय कोठाहरू निजीलाई दिइएको र कतिपय कामहरु पशुपति क्षेत्र विकास कोषसँग अनुमति नलिइकनै गरिएको पाइएको बताए।
उनले टेण्डर निकाल्ने बेला पनि पशुपति क्षेत्र विकास कोषको परिषद्को बैठकबाट यो अनुमोदन नगरेको पाइएको बताए।
‘अनुगमन गरियो, कतिपय कोठाहरु प्राइभेटलाई दिइएको रहेछ। त्यो दिनै नमिल्ने कामहरु भएको रहेछ। कतिपय पशुपति क्षेत्रविकास कोष समितिसँग अनुमति लिएर गर्नुपर्ने कामहरु पनि नगरिएको देखियो। सबैभन्दा पहिलो त यो टेण्टर निकाल्ने बेला पनि पशुपति क्षेत्रविकास कोषको परिषद्को बैठकबाट यो अनुमोदन हुनुपर्दो रहेछ। त्यो समेत नभएको, थुप्रै त्यस्ता कामहरु देखिएका छन्’, मन्त्री आलेले भने, ‘भोलि हाम्रो प्रतिवेदन आउँछ, त्यसपछि त्यहीँ आधारमा हामी अघि बढ्छौँ।’
पर्यटनमन्त्री आलेले भोलि (सोमबार) छानबिन समितिले प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनको आधारमा अघि बढ्ने बताए।