हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ ।
आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा सामूहिक भेला हुन रोक लगाइएको छ । साथै पर्वका अवसरमा पशुपतिलगायतका मन्दिरहरु बन्द गरिएका छन् ।
बुधबार रातिदेखि निषेधाज्ञा लागू भएपछि यस वर्ष महिलाले घरमै महादेवको पूजा आराधना गरी तीन मनाउँदै छन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका तीज को व्रत गर्नुपर्ने छ । सामाजिक रुपमा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने व्रत गर्नुपर्ने बुझाइ छ ।
व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय मत रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् ।
यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका ९तीज० को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो ।