गोरखा, १५ असार - गोरखाको गण्डकी गाउँपालिकाले १९ औं राष्ट्रिय धान दिवस मनाएको छ । पालिकाको कृषि बिकास शाखा, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपाल र खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाको संयुक्त आयोजनामा पलिकाको वडा नम्बर ७ को ज्यामिरेघाटमा धान दिवस तथा रोपाइँ महोत्सव-२०७९ सम्पन्न भएको हो ।
संघीय साम्सद हरिराज अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न महोत्सवमा पालिका अध्यक्ष दिपक तिमिल्सिना `साकार´, भिटोफ-नेपालका अध्यक्ष गोपाल थापा लगायतको उपस्थित रहेको थियो ।
`धानवालीमा जैविक विविधताको उपयोग, आयत प्रतिस्थापनमा सहयोग´ भन्ने मुल नाराकासाथ साम्सद अधिकारी, अध्यक्ष साकार, भिटोफका पदाधिकारी तथा सदस्यहरुले धान रोपेर असार १५ तथा धान दिवस मनाएको पालिकाका कृषि बिकास शाखाका प्रमुख कृष्ण प्रसाद भट्टराईले जानकारी दिए ।
विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि औपचारिक रुपमै राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
उक्त कार्यक्रममा स्थानीय किसान, महिला समुहहरुको उपस्थित रहेको थियो । यस्तो कार्यक्रमले किसानमा उत्साह प्रदान गर्ने सहभागीहरुले बताए ।