गोरखा । गोरखा नगर कार्यपालिकाको कार्यालय सार्न प्रस्ताव गर्दै नगरप्रमुख कृष्णबहादुर राना मगरलाई प्रस्ताव पत्र बझाइएको छ । गोरखा नगरपालिकाका बिभिन्न ६ वडाका वडाध्यक्षसहित १३ जना कार्यपालिका सदस्यले हाल नगरपालिका रहेकाे स्थान अपायक रहेको भन्दै जिल्ला समन्वय समिति रहेको भवनमा सारेर सेवा प्रवाह थाल्न प्रस्ताव गरेका हुन ।
हाल वडा नम्बर ८ को डुम्रीडाँडाँमा रहेको नगर कार्यालयमा आउजाउ गर्न सेवाग्राहीलाई सास्ती भएको भन्दै बहुमत कार्यपालिका सदस्यले नगरप्रमुख रानालाई प्रस्तावपत्र बुझाइएको वडा नम्बर २ का वडाध्यक्ष रहमतुल्ला मियाँले बताए ।
उनिहरुले कार्यालय जिल्ला समन्वय समितिको भवनमा सार्न उपयुक्त रहेको भन्दै पाँच आधारहरु समेत पेश गरेका छन् ।
जसमा हाल नगरपालिकाको कार्यालय रहेको स्थान टाढा रहेको, सार्वजानिक यातायातका साधन नहुदा ट्याक्सीलाई सेवाग्राहीले चर्को भाडा तिर्नुपरिरहेको, हालको भन्दा समन्वयको भवन रहेको क्षेत्रमा तुलनात्मक रुपमा जग्गा प्रयाप्त रहेको, समन्वयको भवन सबैको पहुँच रहेको, सबै सरकारी कार्यालय नजिक रहेको लगायतका आधारहरु रहेको साामजिक विकास समितिका संयोजक समेत रहेका वडाध्यक्ष मियाँले बताए ।
नगरप्रमुख राना समक्ष सो प्रस्तावको पक्षमा निर्णय लिन समेत उनिहरुले अनुरोध गरेका छन् ।
प्रस्ताव र समर्थकमा हस्ताक्षर गर्नेहरुमा सबै नेपाली काँग्रेसबाट निर्वाचित रहेका जनप्रतिनिधी रहेका छन् । जसमा वडाध्यक्षहरु १ का हिक्मत बहादुर कुवँर, २ का रहमतुल्ला मियाँ, ९ का कुल बहादुर कुवँर, १० का प्रदिप कुवँर, १२ का डिलबहादुर थापा मगर, १३ का मित्रा परियार रहेका छन् ।
त्यस्तै कार्यपालिका सदस्यहरु रञ्जिला श्रेष्ठ, सावित्रा थापा पुलामी, सिता मग्राती, पवित्रा विक, अप्सरा नेपाली रेग्मी, पम्फा गान्धारी, कमला भट्टले समेत प्रस्तावको पक्षमा हस्ताक्षर गरेका छन् । गोरखा नगरपालिकामा नगरप्रमुख, उपप्रमुखसहित २३ जनाको कार्यपालिका रहेको छ ।