यौन व्यवसाय भन्नाले यौनमा उत्तेजित गर्न सक्ने कार्यहरू गरी जीविकोपार्जन गर्ने कार्यहरुलाई जनाउँछ । यस कार्यमा पुरुष, महिला र तेस्रो लिङ्गी सबै वर्गको केही व्यक्तिहरु संलग्न रहेको घट्नाहरु बेला बेलामा चर्चा र परिचर्चा हुने गरेको छ । यौन व्यवसायमा संलग्न महिला वा तेस्रो लिङ्गीसँग दैनिक रुपमा ४ देखि ५ जना पुरुषहरुले बेश्यागमान गर्ने गरेको विभिन्न अध्ययन तथा घट्नाहरुले पुष्टि गर्दछ । यसरी हेर्दा संख्यात्मक रुपमा यौन व्यवसाय गर्ने भन्दा वेश्यागमन गर्ने पुरुषहरुको सख्या बढी रहेको तथ्यलाई नकार्न सकिदैन । तथापि सामाजिक रुपमा किन महिला वा तेस्रो लिङ्गीलाई बढी मात्रामा दोषी देखाइन्छ ?
बेश्यागमनमा संलग्न एउटा पुरुषले एकपटकमा कम्तिमा रु १५०० देखि पचासांै हजारसम्म सम्म खर्च गर्ने गरेको र त्यसवाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्पूर्ण परिवारनै प्रभावित भइरहेको छ । कानुनमा व्यवस्था भए अनुसार बेश्यागमन गर्ने पुरुषहरुले सजाय पाएको देखिदैन बरु उल्टै महिलालाई नै लक्षित गरी सामाजिक रुपमा बन्देज गर्ने, अपराधीकरण गर्ने, नियमन गर्ने र रेडलाइट एरिया तोक्नु पर्ने आदि बहसहरु हुदै आएको छ । यस्ता कार्यहरु पितृसत्तात्मक सोच र पुरुषद्धारा महिलाहरु प्रति भएको लैगिक हिंसाको ज्वलन्त उदाहरणहरु हुन् । विभिन्न समयमा सुरक्षा निकायद्धारा होटल, गेस्ट हाउस, रेस्टुरेन्टहरुबाट महिलाहरुको उद्धार गरिदै आएको छ । निश्चित कानुनी प्रकृया पुरा गरेपछि उनीहरुलाई छाडिन्छ तर उनीहरुलाई पुनः त्यहि व्यवसायमा नफर्कन कुनै पनि बैकल्पिक योजना प्रदान गरिदैन ।
१३ बर्षको उमेर देखि ६५ बर्षको उमेर समूहमा आफुले यस पेशामा लाग्दा पटक पटक गर्भपतन गराउने, शारीरीक हिंसामा पर्ने तथा सामाजिक बहिस्करणमा परी नारकीय जीवन बिताउनु पेरको थुप्रै ज्वलन्त उदाहरणहरु छन् । कोभिडको महामारीमा आफ्नो व्यवसाय ठप्प त भयो नै तर राज्यले आम नागरिकलाई दिएको सामान्य सेवा सुबिधाको लागि आफ्नो परिचय पत्रको अभावमा कयौँ महिलाहरुले सहयोग समेत प्राप्त गर्न सकेनन् तथापि सिमित संस्थाहरुको पहलमा केही सहयोग र विकल्पहरु प्रदान गरियो तर त्यति मात्र पर्याप्त थिएन त्यसैले यौन व्यवसाय राज्यको समस्या हो र यसबारे नेपाल सरकारको स्पस्ट धारणा र ठोस कार्यक्रमहरु आउनु जरुरी छ ।
यौन व्यबसायमा संलग्न महिलाको पनि आफ्नो परिवार छ, इच्छाहरु छ, सपनाहरु छ, समाज छ तर महिलाको लागि मात्र लक्षित रेडलाइट एरिया बारे बहस किन हुन्छ ? बेश्यागमन गर्ने पुरुषहरुको लागि पनि आचार संहिता हुनु पर्ने वा नपर्ने अबको दिनमा बहस हुन जरुरी छ । सायद नीति निर्माणको तहमा पुरुषहरुको नै बाहुल्यता भएको कारणले बेश्यागमन गर्ने पुरषहरुको विषयमा कहिल्यै पनि बहसको विषय बन्न नसकेको हो त ? तर एउटी महिला जसको पारिवारिक अवस्था विक्षिप्त रहेको छ, आफ्नो जीवन साथिवाट अपहेलित भएकी छिन, आर्थिक रुपमा कमजोर छिन, सामाजिक रुपमा अपहेलित छिन, राज्यबाट पाउन सेवाको त कुरै छाडौं नेपाली नागरिकताको समेत पाइरहेकी छैनन्, सामाजिक कुप्रथा वा कुरीति, प्राकृतिक प्रकोप र विपत्ति, बेरोजगारी, सामाजिक संञ्जालको दुरुपयोग, लैगिंक तथा घरायसी हिंसाबाट प्रभावित छिन, पुरै परिवारको लालन पालन उनीको नै जिम्मामा छ अनि मृत्यू पनि रोज्न सकिनन र बाँच्नको लागि सहारा खोज्दै गर्दा नारकीय जीवनमा फस्न पुगिन, तिनै महिलाहरु प्रति लक्षित गरी गीतका भाकाहरुमा सार्वजनिक रुपमा गाइन्छ, बजाइन्छ, कम्मर मर्काई मर्काइ नाचिन्छ, अनि भन्ने गरिन्छ यो त समाजको वास्तविकतालाई वाहिर ल्याउने काम मात्र गरेको हो आक्षेप त होइन नि । तर ती महिलाको वास्तविकताको वारेमा बुझ्ने प्रयास कहिल्यै कतैवाट हुदैन ।
किन उनी आफ्नो शरीर बेच्न बाध्य भइरहेकि छिन ? शायद यसको पीडा त वाध्यताबस यो पेशामा लाग्नुपरेको महिलाहरु जसको घाँटि रेटिएको छ, मानसिक रुपमा बिक्षिप्त भएकि छिन्, सडकको पेटिमा र पुल मुनि रात काटेकि छिन् , पटक पटक जवसजस्ति करणीमा परेकी छिन उनीले मात्र बुझ्न सक्ने विषयवस्तु रहेछ । आजकल अर्पाटमेन्ट भाडामा लिएर यौन व्यवसाय गर्नेहरुको कथा अलि भिन्न र परिस्कृत छ तर यहाँ सडक छेउ, आकाशे पुल, बसपार्क र बस स्टेशन वरिपरी यौन व्यवशाय गर्ने महिला, तेस्रो लिङ्गी र बेश्यागमन गर्ने पुरुष सबैले एक अर्कालाई गर्ने प्रश्नहरु भनेकोः जाने हो ? कति रुपैयाँ ? कहाँ जाने ? कति समय ? उमेर कति ? आदि ।
महिला वा तेस्रो लिङ्गीले मात्र यौन व्यवसाय चल्न सक्छ ? पक्कै पनि चल्दैन, यदि त्यसो हो भने महिला वा तेस्रो लिङ्गीलाई मात्र दोषारोपण किन ? त्यसको आधा हिस्सा पुरुषले पनि लिनुपर्ने होइन ? जब महिलालाई अनेक लोभ, लालच, प्रलोभन, आशा र भरोसा देखाउने र कमजोरीको फाइदा लिने तर महिलाले मात्र यौनकर्मीको आक्षेपहरु सहनु पर्ने किन ? अहिले बजारमा यौनकर्मीहरुको संख्या बढ्दै गएको यथार्थ हो र यसका अनगिन्ति कारणहरु होलान तर सरकारी स्तरवाटै जोखिममा परेका महिलालहरुको लागि ठोस कार्यक्रम ल्याउने हो भने यौन व्यवसाय नियन्त्रणको लागि खासै समस्या छैन तर यहाँ समस्या त पितृसत्तात्मक सोच र महिलाहरु प्रति पुरुषहरुको हेर्ने हेपाहा प्रवृति हो ।
यहाँ महिलाहरु माथि महिलाहरुद्धारा नै आक्षेप नलागेको पनि त होईन, एउटी महिलालाइ लोभ र प्रलोभनमा फसाइन्छ, जाल साजीमा पारिन्छ, अनेक प्रपञ्च रचिन्छ, अध्यारो कोठामा थुनिन्छ, निरीह बनाइन्छ, दबाब सिर्जना गरिन्छ, भरपुर मात्रामा फाईदा लिइन्छ, प्रतिरोध गरेमा घाँटी रेटिन्छ तर पीडित व्यक्तिले न्यायलयको ढोका ढक्ढक्याउँदा उल्टो उनी माथिनै सहनै नसक्ने आक्षेपहरु लगाइन्छ, स्याल भाका निकालिन्छ, भित्रै देखि कमजोर पार्न न्वारन देखिको बल निकालेर भेटेसम्म घचाट्ने प्रयास हुन्छ किनकी त्यो समस्या आफु र आफ्नोमा नपरेकोले हुन सक्छ तर जब त्यहि घट्ना आफैले व्यहोर्नु पर्दछ अनि मात्र महिला माथि लगाउने आरोपहरुको गाम्भिर्यता बारे अनुभुति हुन सक्छ ।
कैयौँ यस्ता घटनाहरु छन् आफ्नै श्रीमानले श्रीमतिलाई यौन व्यवसायमा लाग्न बाध्य बनाइएको यसमा ति महिलाको दोष हो वा श्रीमानको ? मीठो र मसिनो पुरुषले खाने तर कलङ्क महिलाले मात्र व्यहोर्नु किन ? ती महिलाहरुसँग थप कुरा गर्दा आफूहरु यस पेशामा लाग्न वाध्य भएपनि अरुहरुलाई भने यस नारकीय पेशामा नलाग्नको लागि सल्लाह दिएको बताउछन् । उनीहरुलाई जीविकोपार्जनको लागि कुनै सहयोग भएमा यो पेशा छोड्न तयार रहेको र केहीले छाडेर नयाँ जीवनको थालनी गरेको थूप्रै उदाहरणहरु पनि छन् ।
यौन व्यवशाय र बेश्यागमनमा देखा परेको समस्या समाधान त्यति बेला मात्र हुन्छ जतिबेला उनीहरुलाई प्रजनन् स्वास्थ्य सम्बन्धी ज्ञान, जीविकोपार्जनको लागि बैकल्पिक माध्यमको पहिचान र सहयोग, संबिधानमा उल्लेख गरिएका मौलिक हक र अधिकारको अनुभुति गराउन सकिन्छ । त्यसैले व्यक्ति, परिवार, समाज, सामाजिक संघ, संस्था र सरकारको ध्यान समयमानै यौन व्यवसायीको समस्याको पहिचान र समाधान तर्फ जानु अति आवश्यक छ ।