हालै सामाजिक सञ्जालमा एउटा दुःखद समाचार प्रचारित भएको छ । झापाको दमककी एक युवती घरबाट निस्किइन् र केही दिनपछि उनको शव खोलामा बोराभित्र फेला परेको समाचारले धेरैको मन झस्कायो । अनुसन्धान जारी रहेकाले घटनाको अन्तिम सत्य अदालत र कानुनी प्रक्रियाबाट मात्र स्थापित हुनेछ । तर यो घटनाले हजारौं अभिभावक, किशोरी तथा बालबालिकाहरुलाई एउटा गम्भीर प्रश्न सोध्न बाध्य बनायो कि हामी कति सुरक्षित छौं?
यसअघि पनि सुर्खेतमा एक किशोरीको मृत्यु प्रकरणले देशभर चर्चा पाएको थियो । सामाजिक सञ्जालमा ती घटनाबारे हजारौं टिप्पणीहरू आए । कसैले न्यायको माग गरे, कसैले अभिभावकलाई सचेत हुन आग्रह गरे, त कसैले किशोरीहरूलाई सम्बन्ध र सामाजिक सञ्जाल प्रयोगबारे थप सतर्क हुन सुझाव दिए । विगतमा पनि यस्तै दर्दनात्मक घटनाले सबैलाई रुवायो ।
यी घटनाहरूको अनुसन्धान र कानुनी निष्कर्ष आफ्नो ठाउँमा छन् । तर एउटा कुरा स्पष्ट छ कि आजको डिजिटल युगमा किशोरीहरूलाई पहिलेभन्दा धेरै अवसर प्राप्त भए पनि उनीहरू पहिलेभन्दा धेरै जोखिमको सामना पनि गरिरहेका छन् ।
सामाजिक सञ्जालः अवसर कि जाल?
आज अधिकांश किशोरीहरूको दिन फेसबुक, टिकटक, इन्स्टाग्राम, मेसेन्जर वा अन्य सामाजिक सञ्जालबाट सुरु हुन्छ । यही माध्यमबाट नयाँ साथी बन्छन्, सम्बन्धहरू विकसित हुन्छन्, विचार आदानप्रदान हुन्छ र कहिलेकाहीँ प्रेमसम्बन्ध पनि सुरु हुन्छ ।
सामाजिक सञ्जाल आफैंमा खराब होइन । वास्तवमा यसले संसारलाई नजिक ल्याएको छ । ज्ञान, सीप, रोजगारी, व्यवसाय र प्रतिभा प्रदर्शनका असंख्य अवसर सिर्जना गरेको छ ।
तर दुःखद अवस्था भने त्यतिबेला सिर्जना हुन्छ, जब केही दिनको च्याट, मीठा शब्द र सामाजिक सञ्जालमा देखिएका आकर्षक तस्वीरलाई नै वास्तविकता ठानेर कसैलाई आफ्नो जीवन, भावना र सुरक्षासम्म जिम्मा दिइन्छ । याद राखौं, फेसबुकको प्रोफाइल, टिकटकको भिडियो वा मेसेन्जरका सन्देशले व्यक्तिको वास्तविक चरित्र देखाउँदैनन्; वास्तविक चरित्र त उसको व्यवहार, जिम्मेवारीबोध, सम्मान गर्ने बानी र कठिन परिस्थितिमा देखिने आचरणले चिनिन्छ ।
आज धेरै मानिसहरूले आफ्नो वास्तविक जीवनभन्दा फरक छवि प्रस्तुत गर्छन् । फोटोमा मुस्कुराइरहेको व्यक्ति वास्तविक जीवनमा कस्तो छ भन्ने कुरा केवल तस्वीर हेरेर थाहा हुँदैन । मिठामिठा र प्रेमिला शब्द बोल्ने व्यक्ति भित्रबाट कस्तो सोच राख्छ भन्ने कुरा केही दिनको च्याटबाट बुझ्न सकिँदैन ।
त्यसैले सामाजिक सञ्जालमा बनेको सम्बन्धलाई वास्तविक जीवनको विश्वासमा बदल्नुअघि धेरै सोच्न आवश्यक हुन्छ ।
विश्वासको नाममा हुने धोका
अधिकांश जोखिमपूर्ण सम्बन्धहरू अचानक सुरु हुँदैनन् । सुरुमा सबै कुरा सामान्य देखिन्छन् ।
कसैले नियमित रूपमा सन्देश पठाउँछ ।
कसैले आफ्नो दुःख सुनाउँछ ।
कसैले “तिमी मात्र मेरो जीवन हौ“ भन्छ ।
कसैले विवाहका सपना देखाउँछ ।
कसैले धेरै राम्रो कमाइ हुने लोभ देखाउँछ ।
कसैले अब जीवन सुखमय हुने दिन आए भनेर झूठो सपना बुन्छ । आदि
यस्ता कुराले किशोरकिशोरी अवस्थाको मन छिट्टै प्रभावित हुन सक्छ ।
विशेष गरी किशोरावस्थामा मानिसलाई आफ्नो कुरा सुन्ने, महत्व दिने र माया गर्ने व्यक्तिको आवश्यकता महसुस हुन्छ । यही भावनात्मक आवश्यकताको फाइदा उठाएर कतिपय व्यक्तिहरूले विश्वास जित्ने प्रयास गर्छन् ।
धेरै घटनाहरूमा सुरुको सम्बन्ध निकै राम्रो देखिएको हुन्छ तर समयसँगै नियन्त्रण, दबाब, धम्की र भावनात्मक शोषण सुरु हुन्छ ।
यसैले हामी सबैले एउटा कुरा सधैं सम्झनुपर्छ कि विश्वास कमाउन समय लाग्छ, तर विश्वासको दुरुपयोग हुन एक क्षण पनि लाग्दैन ।
“यदि माया गर्छौ भने...“ भन्ने खतरनाक वाक्य हो ।
धेरै किशोरीहरूले जीवनमा कुनै न कुनै बेला यस्तो कुरा सुनेका हुन्छन्,
“यदि मलाई माया गर्छौ भने अहिले भेट्न आउ ।”
“यदि मलाई विश्वास गर्छौ भने कसैलाई नभन्नू ।”
“तिमी बिना म बाँच्न सक्दिन”
यी वाक्यहरू सुन्दा प्रगाड प्रेम गरेको जस्तो लाग्न सक्छ । तर वास्तवमा यस्ता वाक्यहरू भावनात्मक दबाबका संकेत हुन सक्छन् ।
याद रहोस्ः
साँचो प्रेमले कहिल्यै कसैलाई डरमा राख्दैन ।
साँचो प्रेमले कहिल्यै गोप्य रूपमा जोखिमपूर्ण काम गर्न बाध्य पार्दैन ।
साँचो प्रेमले कहिल्यै स्वतन्त्रता खोस्दैन ।
जहाँ सम्मान छैन, त्यहाँ प्रेम छैन ।
जहाँ डर छ, त्यहाँ सुरक्षा छैन ।
जहाँ दबाब छ, त्यहाँ स्वस्थ सम्बन्ध छैन ।
प्रिय छोरीहरुलाई सन्देश, तिमी कसैको मनोरञ्जन होइनौ ।
आज सामाजिक सञ्जालमा धेरै किशोरीहरू आफ्नो मूल्य अरूको प्रतिक्रियाबाट मापन गर्न थालेका छन् ।
कति लाइक आयो?
कति जनाले प्रतिक्रिया दिए?
कति जनाले प्रशंसा गरे?
तर वास्तविक मूल्यमान्यता यी कुराले निर्धारण गर्दैन ।
तिम्रो मूल्यमान्यता तिम्रो चरित्रले निर्धारण गर्छ ।
तिम्रो मूल्यमान्यता तिम्रो क्षमता र सपनाले निर्धारण गर्छ ।
तिम्रो मूल्यमान्यता तिमीभित्रको आत्मसम्मानले निर्धारण गर्छ ।
कुनै व्यक्तिले तिमीलाई मन परायो वा पराएन भन्ने आधारमा तिम्रो मूल्यमान्यता घट्दैन ।
यस संसारमा तिमी केवल कसैको प्रेमिका बन्न जन्मिएकी होइनौ । तिमी आफ्ना सपनाहरू पूरा गर्न जन्मिएकी हौ ।
विचार गर, एक रातको एउटा निर्णयले जीवन बदल्न सक्छः
धेरै दुःखद घटनाहरूमा एउटा समानता देखिन्छ, त्यो हो भावनामा बगेर गरिएका निर्णयहरू ।
कसैको फोन आयो ।
भेट्न बोलायो ।
एक्लै आउन भन्यो ।
कसैलाई नभन्नु भन्यो र
त्यसपछि अप्रत्याशित घटना भयो ।
जीवनमा सबैभन्दा बुद्धिमानी निर्णय भनेको आफ्नो सुरक्षालाई पहिलो प्राथमिकता दिनु हो ।
भेट्नै परे सार्वजनिक स्थानमा भेट्ने ।
दिनको समयमा सुरक्षित स्थानमा भेट्ने ।
आफ्नो लोकेशनको बारेमा परिवार वा विश्वासिलो साथीलाई जानकारी गराने ।
फोनलाई चालू अवस्थामा राख्ने ।
आवश्यक परे तुरुन्त सहयोग माग आदि
यी सामान्य कुराहरूले कहिलेकाहीँ जीवन बचाउन सक्छन् ।
सामाजिक सञ्जालमा देखिने प्रेम सधैं वास्तविक हुँदैनन् ।
आज टिकटक र फेसबुकमा प्रेमका हजारौं भिडियोहरू छन् ।
फूलका गुच्छा ।
महँगा उपहार ।
रोमान्टिक सन्देश ।
भावुक संगीत आदि ...।
यी सबै हेर्दा प्रेम अत्यन्त सुन्दर देखिन्छ तर वास्तविक प्रेम केवल शब्द होइन ।
वास्तविक प्रेम भनेको सम्मान हो ।
विश्वास हो ।
सुरक्षा हो ।
सहयोग हो ।
विकास हो ।
असल भविष्य हो । आदि ...
यदि कुनै सम्बन्धले तिम्रो पढाइ बिगारिरहेको छ, आत्मविश्वास घटाइरहेको छ, परिवारबाट टाढा बनाइरहेको छ वा सधैं तनाव दिइरहेको छ भने त्यो सम्बन्धबारे पुनर्विचार गर्न आवश्यक हुन्छ ।
अभिभावकसँग कुरा गर्न नडराऊ । धेरै किशोरीहरू आफ्ना समस्या परिवारसँग साझा गर्न डराउँछन् । उनीहरू सोच्छन् कि मैले अभिभावकलाई यसबारे भने भने मलाई,
“गाली गर्छ ्।”
“रिसाउँछन् ।”
“विश्वास गर्दैनन् ।”
तर जीवनको सबैभन्दा कठिन समयमा खोज्ने पहिलो व्यक्ति परिवार नै हुन्छ ।
हो, कहिलेकाहीँ अभिभावकको प्रतिक्रिया कठोर हुन सक्छ । तर अधिकांश अभिभावक आफ्ना छोराछोरीहरूको सुरक्षा नै चाहन्छन् ।
त्यसैले सम्बन्ध, मित्रता, समस्या वा डरका विषयमा कम्तीमा एक जना विश्वासिलो परिवार सदस्यसँग खुला कुरा गर्ने बानी बसाल्नुपर्छ ।
नशा, हिंसा र रिसलाई सामान्य नठान
यदि कुनै व्यक्तिमा निम्न लक्षणहरू छन् भने सचेत हुनुपर्छ,
बारम्बार झूट बोल्ने,
अत्यधिक रिसाउने,
धम्की दिने,
हिंसात्मक व्यवहार गर्ने,
नशाको कुलतमा फस्ने,
अरूलाई नियन्त्रण गर्न खोज्ने,
मोबाइल जाँच्न खोज्ने,
साथीहरूसँग भेट्न नदिने । आदि ...
यी सबै “माया धेरै भएको“ संकेत होइनन् ।
यी सम्भावित जोखिमका संकेत हुन् ।
प्रिय छोरीहरू, तिम्रो आत्मविश्वास र सपना बचाऊ ।
हरेक किशोरीहरूको एउटा न एउटा सपना छः
कतिले डाक्टर बन्ने सपना देखिरहेका छन् ।
कोही इन्जिनियर बन्न चाहन्छन् ।
कोही पत्रकार ।
कोही उद्यमी ।
कोही समाजसेवी ।
कोही वैज्ञानिक । आदि...
यी सपनाहरू कुनै क्षणिक भावनाभन्दा धेरै मूल्यवान छन् ।
एक जना व्यक्तिले साथ छोडे पनि जीवन समाप्त हुँदैन ।
एउटा सम्बन्ध टुटे पनि भविष्य टुट्दैन ।
एउटा असफल प्रेमले तिम्रो सम्पूर्ण जीवनको मूल्य निर्धारण गर्न सक्दैन । तर एउटा असुरक्षित निर्णयले भने जीवनभरको पीडा दिन सक्छ ।
सबै छोरीहरुलाई अन्तिम सन्देश
हालै झापा र सुर्खेत लगायत विगतमा अन्य स्थानमा घटेका दुःखद घटनाहरूले सम्पूर्ण समाजलाई एउटा सन्देश दिएको छ, सुरक्षा, सचेतना र आत्मसम्मानको कुनै विकल्प छैन ।
प्रिय छोरीहरु,
सामाजिक सञ्जाल प्रयोग गर, तर विवेकका साथ ।
मित्रता गर, तर सावधानीका साथ ।
विश्वास गर, तर सोचविचार गरेर ।
प्रेम गर, तर आफ्नो सुरक्षा बिर्सेर होइन ।
किनकि तिम्रो जीवन अमूल्य छ । आदि...
तिमी केवल आजको खुशीका लागि होइन, भोलिको उज्यालो भविष्यका लागि जन्मिएकी हौ ।
तिम्रा आमाबाबुको सपना तिमी हौ ।
तिम्रो समाजको आशा तिमी हौ ।
र तिम्रो जीवनको सबैभन्दा ठूलो जिम्मेवार व्यक्ति पनि तिमी स्वयं हौ ।
त्यसैले आफूलाई सुरक्षित राख ।
आफ्नो आत्मसम्मान जोगाऊ ।
र कुनै पनि सम्बन्धभन्दा माथि आफ्नो जीवन र भविष्यलाई राख ।
किनकि संसारलाई अझै पनि तिम्रा धेरै सपनाहरू पूरा भएको हेर्न बाँकी छ ।
सबै छोरीहरुको सुरक्षा हामी सबैको साझा जिम्मेवारी ।
धन्यवाद ।
(लेखकः “श्रमिक” मानव बेचबिखन र लैङ्गिक हिंसाको अन्त्य गर्ने अभियानमा क्रियाशील सामाजिक संस्थामा कार्यरत हुनुहुन्छ ।)