व्यवहार आफैमा इतिहास हुन्छ ,इतिहास आफैमा मार्ग निर्देशक सिद्धान्त बन्छ। प्रसङ्ग बेपत्ता कमरेडको विचार र नातासंगै जोडिएको हिसाबले म कलम चलाउदै छु। ती महान अग्रजहरु जसले आफ्ना व्यक्तिगत जिन्दगीको प्रवाह नगरि देश र जनताको मुक्तिका लागि महान यात्रामा समाहित हुनुभयो र आज कहाँ हुनुहुन्छ न हामी जस्ता आफन्तलाई थाहा छ न त जन्माउने बुवाआमालाई नै। न त बाटो देखाउने गुरुहरु घुम्ने कुर्चीमा पुगिसक्दा पनि उहाहरुलाई थाहा छ। उहाको भौतिक शरीर हामी माझ नभए पनि उहाले देखाएको बाटोमा लागिरहेका छौ र लागि रहने छौ।
वाम्पन्थीको उर्वराभुमि भनेर चिनिने गोरखा जिल्ला आपपिपल गाबिस (हाल पालुङ्टार-२) सिम्पानीमा बुवा देबिप्रसाद देवकोटा र आमा देबिमाया देवकोटाको ७ औ सन्ताको रुपमा २०३५ जेठ २ गतेका दिन गरिब निमुखाको पक्षमा आवाज बुलन्द गर्ने क्रान्तिकारी नेता पुष्पराज देवकोटा क.जनकको जन्म भएको थियो। ६ दिदीबहिनी र २ दाजुभाई मध्य कान्छो छोराको रुपमा जन्मेका जनकको परिवार निम्नमध्यम वर्गको छ। ९ जना छोरा- छोरी भए पनि शिक्षाको ज्योति प्रदान गर्न मजदुरी गरेर भए पनि सबै छोराछोरीलाई स्कुल भर्ना गर्नु पर्छ भन्ने मान्यताका साथ बुवा देबिप्रसादले सबै छोरा चोरीलाई स्कुल भर्ना गर्नुभयो । ठुलो परिवारमा जन्मिएका जनकको अक्षर चिन्ने काम गाउँ नजिकैको प्राथमिक बिद्यालयबाट सुरु भयो। र पछि गाउँबाट केही टाढा आधा घण्टा जति उकालो हिडी जनता माबिमा भर्ना हुनुभयो ।
एउटा इमान्दार सोझो केटो पढाईमा लगनशील र अनुशासितका रुपमा चिनिन्थे। सानै देखि वामपन्थी आन्दोलनका बारेमा बुझेरहेका जनक आफ्नै नातेदारबाट प्रभाबित हुनुहुन्थो । १० बर्ष सम्म चलेको जनयुद्धको आधार इलाका समेत रहेको आपपिपलबाट उनी जिल्लामा हुने हरे कार्यक्रममा सहभागी हुदै अन्याय , अत्याचारबिरुद्ध आवाज बुलन्द पार्दै स्कुल जाने निहुमा कहिले जिल्ला कार्यक्रम त कहिले क्षेत्रिय कार्यक्रममा सहभागी हुनुहुन्थो ।
क.जनकले आपपिपलको जनता माबिबाट एसएलसी पास परेपछि उच्च शिक्षा हासिल गर्न चितवनको रामपुर क्याम्पस भर्ना हुनुभयो । उनी २ बर्षको पढाई पुरा गरी गोर्खा फर्किनुभयो । वामपन्थी आन्दोलनलाई नजिकबाट नियालीरहेका जनकले गोरखा कै गोरखा शिक्षा क्याम्पस भर्ना भई आफ्नो बिधार्थी राजनीति सुरु गर्नुभयो । क्याम्पस भर्ना भएको केही समयपछि नै अखिल (क्रान्तिकारी) गोरखा क्याम्पस इकाई अध्यक्ष सम्हालेकाका जनकले बिधार्थी सखित र अधिकारको बाटो गरिब बिधार्थीलाई छात्रावृत्ति उपलब्द गराउदै बिधार्थी साथीहरुलाई क्रान्तिकारी बनाउन सफल हुनुभयो ।
क्याम्पसको एक मात्र सस्था स्वबियुमा सचिबमा उठ्नु भएका उहा अत्यधिक मात्रामा मत ल्याई बिजय हुनुभयो । सानो अवधिमा राजनीतिक छलाङ् मार्दै सबैको मन जित्न सफल जनकको पढाईमा समेत सबैले डाह गर्ने गर्दथे। बिहान देखि बेलुका सम्म राजनीतिक गर्दै हिड्ने जनत राजभर पढ्नु हुन्थो । उहाले गोरखा क्याम्पसको रिजल्टमा अग्रस्थान हासिल गारी क्रान्तिकारी बिधार्थीको परिचय दिन सफल भएका हुनुभयो ।
यसरी पढाई र राजनीतिमा सफलता हासिल गर्ने क्रममा उनी २०५३ सालमा अखिल क्रान्तिकारीको १३ औ जिल्ला अध्यक्ष सम्हाल्न सफल हुनुभयो । दुस्मानको आखाको कसिंगर बनेता पनि ९०% श्रमजीबी जनताको आखाको नानि बन्न सफल जनक २०५४ साल दशैंको नवमीको दिनमा रति आफ्नै घरबाट सुतिरहेको बेला गिरफ्तारमा पर्नु भयो ।
लामो समयसम्मको हिरासत बसाइपछि उहाले सार्वजनिक मुद्धा खेप्न थाल्नुभयो । दुश्मनको बन्दुकको कुन्जाले उनको विचारलाई रोक्न सकेन। सामन्तवादका पिछलग्गुहरुको ललाईफकाईमा उहा फस्नुभएन । फलत : उहालाई पुन: २०५५ सालमा गोरखा सदरमुकामबाट गिरफ्तार गरियो। कहिले हातहतिहार खरखजाना त कहिले शान्तिसुरक्षा खलबलको आरोप लगाउदै नौ नौ महिना म्याद थपिदै गयो। कहिले विरगंज जेल त कहिले भैरहवा जेल सारिदासारिदै दुश्मनको कठोर यातनाले उहाको शरीर पानीपानी भैसकेछ तर विचार झनै इस्पात बन्दै गयो। फलत : पहिलो चरणको वार्ताकालमा उहा छुट्नुभयो।
मेरो अन्तिम भेट २०६० साल कार्तिकमा भएको थियो। तर तिन महिना पछि २०६० साल पुस ८ गते नवलपरासी जिल्लाको रहजर (दुम्कौली) भन्ने ठाउमा तत्कालिन सिभिलका शाहीसेनाद्वारा उहाको गिरफ्तार भएछ। त्यसपछि उहा कहाँ पुग्नु भयो। कुन अवस्थामा हुनुहुन्छ वा हुनुहुन्न हामीलाई थाहा छैन। सेनाका ब्यारेकमा खोज्न गयौ तर अहिले सम्म पत्तो छैन। उहा तत्कालिन नेकपा माओवादी नवलपरासी जिल्ला सचिवालय सदस्य हुनुहुन्थो भन्ने सुनिन्छ।
एउटा निशस्त्र मान्छे एउटा अदम्य जोस र जागर त अदम्य साहस बोकेर सिंगो सामन्तवादको अन्त्यको लागि कठिन मोर्चामा हिडेको सिपाईको बारेमा आजको दिन सम्म सरकारले उचित जवाफ दिन सकेको छैन। पछिल्लो समय पार्टीले जेलभित्र नै हत्या भयो भन्दै सहिद घोषणा गरेको छ। तर परिवारलाई लास समेत नदिकन गरिएको घोषणले परिवारको चित्त कसरी बज्छ ?
यो लेख २०६५ सालमा लेखेको हो। आज बेपत्ता दिवसको दिन पत्रिकाबाट साभार गरिएको हो- सम्पादक
