अकुर तिमल्सिना (आयाम)
मानव समाजको इतिहास वर्ग संघर्षको इतिहास हो । वर्गमा विभाजित समाजमा वर्ग रहेसम्म वर्ग संघर्ष जारी रहन्छ । समाजको यथास्थितिवादी सामाजिक, राजनैतिक चरित्रलाई परिवर्तन गरेर अर्काे राजनैतिक चरित्रको सत्ता स्थापनाका लागि एउटा शक्तिशाली धक्काको आवश्यकता पर्छ अर्थात् एउटा क्रान्तिको आँधीबेहेरीको आवश्यकता पर्दछ । त्यो आँधीबेहेरीले समाजको पुरानो राजनैतिक अवशेषको अन्त्य गरिदिएर नयाँ राजनैतिक अवस्थाको सिर्जना गर्दछ । यो कुरा शाश्वत सत्य छ कि परिवर्तनका लागि क्रान्ति आवश्यक छ र परिवर्तनका लागि क्रान्ति हुन्छ । क्रान्तिको उत्कर्षरुप रक्तपातपूर्ण हुन्छ । त्यसैले क्रान्तिमा बलिदान अपरिहार्य र अनिवार्य सर्त हो । बलिदान बिना कुनै पनि क्रान्ति सम्भव छैन । विश्वमा भएका जुनसुकै क्रान्तिलाई हेर्ने हो भने पनि बिना बलिदान क्रान्तिहरु सम्पन्न भएका छैनन् ।
बलिदानी भाव बिनाको क्रान्तिले वास्तविक शान्ति प्राप्त गर्न सक्दैन । क्रान्ति त त्यतिबेला हुन्छ जतिबेला राज्यका बहुसंख्यक जनता राज्यसत्ता सञ्चालकको उत्पीडनमा पर्छन् । तब जनतामा विद्रोहको भाव पैदा हुन्छ अनि त्यसले क्रान्तिको रुप लिन्छ । क्रान्ति त्यस लक्ष्यका लागि हुन्छ कि जसले समाज रुपान्तरण गर्दछ र वास्तविक शान्ति प्राप्त गर्दछ । क्रान्ति रहर र लहडले हुने पनि होइन । यो त परिपक्व वस्तुगत आवश्यकताले आमन्त्रण गर्दछ । नेपाली जनताको पूर्ण परिवर्तनको लागि विंस २०५२ साल फागुन १ गतेबाट नेकपा माओवादीद्धारा सञ्चालित महान क्रान्ति जनयुद्ध पनि सोही विज्ञानको नियममा आधारित थियो ।
महान जनयुद्ध कसैको रहरले गरिएको थिएन योे वस्तुगत ऐतिहासिक आवश्यकता थियो । क्रान्तिमा बलिदान हुने कुरालाई सचेततापूर्वक ग्रहण गर्न थालिएको थियो । नेपाली जनताको ठुलो त्याग योगदान र बलिदानबाट नेपालमा नेपाली जनताले जोसात दशकदेखि संघर्ष गर्दै आएका राजनैतिक उद्देश्य पूरा गर्ने अभिभारा जनयुद्धले पूरा गरिदियो । त्यो हो नेपाली जनताले आफ्नो लागि आफ्नै जनप्रतिनिधिहरुबाट संविधानसभामार्फत संविधान प्राप्त गर्न पाए । मुख्य गरेर प्रत्यक्ष रुपमा जनता आँफै राज्यसत्ता सञ्चालनमा सहभागी हुने राजनैतिक व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाले गरिदियो र एकात्मक सामन्ती राज्य व्यवस्थाको अन्त्य गरिदियो । जसको मुख्य योगदान नेपाली धर्तीमा दश वर्षसम्म सञ्चालन भएको महान जनयुद्धले नै दियो । समाजलाई यथास्थितिमा राख्न चाहने वर्गहरु जो परिवर्तनलाई स्वीकार गर्न सक्दैनन् ।
ती वर्गका प्रतिनिधि पात्रहरु त्याग समर्पण र बलिदानमाथि विष वमन गर्दै नेपाली राजनीतिलाई उल्टो दिशातर्फ धकेल्ने दुस्साहस गर्न पनि लागिरहेका छन् । उनीहरुलाई आम शोषित पीडित, उत्पीडित जनसमुदायले अधिकार पाएको कुरा मन परेको छैन । यसको पछिल्लो उदाहरण हाल जनक्रान्ति वा जनयुद्धका बारेमा ती प्रतिगामी प्रतिनिधि पात्रहरु नकारात्मक टिप्पणी गर्दै जनयुद्ध र बलिदानलाई अपमान गर्ने, नेपाली जनताको अधिकार कुण्ठित गरी पुनः देशमा द्वन्द्व सिर्जना गर्ने दुस्साहस गरिरहेका छन् । नेपाली जनता सामु अबयस्ता यथास्थितिवादी, प्रतिगामी सोचका विरुद्ध भण्डाफोर गर्दै यो भन्दाअझै राजनैतिक रुपमा समुन्नत समाज निर्माण गर्न जरुरी छ । त्यो भनेको संविधानलाई अझै जनताको अधिकार ग्यारेन्टी गर्ने, गणतन्त्रलाई यो भन्दाअझै समुन्नत बनाउदै लैजाने हो । त्यो भनेको संविधानको प्रस्तावनामा नै उल्लेख भएको विषय नेपाललाई समाजवादी राजनैतिक व्यवस्थामा लैजाने हो ।
यसका निम्ति पनि एउटा थप विद्रोहात्मक आन्दोलनको आवश्यकता पर्दछ अर्थात् एउटा क्रान्तिको माग गर्दछ । बलिदानीको निरन्तरताले बलिदानको भाव पैदा गर्दै सिंगो संसार बदल्न महत्वपूर्ण भूमिका खेलेको इतिहास हाम्रो सामु छ । आज बलिदानीपूर्ण क्रान्तिलाई,न्यायपूर्ण जनताको आन्दोलनलाई केही भद्दा मजाक गर्न खोजिए पनि यो क्रान्ति एक युगको एक समाज परिवर्तन गर्न सशक्त माध्यम भएको कुरा कसैले नकार्न नसक्ने स्थितिमा छ । आज बलिदानको जगमा सहिदका रगतले देखाएको बाटोमा अविचलित भई समाजवादी क्रान्तिको विजयमा दृढतापूर्वक लाग्नुको विकल्प छैन । महान जनयुद्धको क्रममा बलिदानी इतिहास प्रारम्भ भएको दिन । त्यो महानता प्राप्त गरेको गौरवपूर्ण इतिहास बोकेर सहादत प्राप्त गर्नुहुने जनयुद्धका प्रथम आदरणीय सहिद कमरेड दिल बहादुर रम्तेलको वीरताको इतिहास हामीले यस बलिदान दिवसको रुपमा स्मरण गरिराख्नै पर्छ ।
नेकपा माओवादी पार्टीले जनयुद्धको प्रथम सहिद दिल बहादुर रम्तेलको सहादत भएको दिन फाल्गुण १४ देखि झापा विद्रोह (२०२८९) का बेला फाल्गुण २१ गते सुखानीको जंगलमा गोली हानी हत्या गरी सहादत प्राप्त गर्नुहुने क. रामनाथ दाहाल, क.वीरेन राजवंशी,कमरेड कृष्ण कुइँकेल, क.नारायण श्रेष्ठ र कमरेड नेत्र घिमिरेलगायत सहिदहरुको सम्मान र स्मरणमा एक हप्ता सहिद सप्ताह मनाउँदै आएको छ । बलिदानलाई क्रान्तिको ऊर्जाको रुपमा लिँदै जनयुद्धमा बलिदानीको बारेमा स्मरण र उहाँहरुको योगदानको उच्च सम्मान गर्नु हामी बाँचेकाहरुको प्रमुख दायित्व हो । मान्छेकोे जन्म हुन्छ र मान्छे मर्छ पनि । जीवित भौतिकको आदि र अन्त्य निश्चित छ । यो विज्ञान सम्मत कुरा हो । नेपाली धर्तीमा योजनाबद्ध ढंगबाट श्रमजीवी वर्गको राज्यसत्ता स्थापना गर्न महान जनयुद्धको सञ्चालन गरेको पनि यतिबेला तीस वर्षमा प्रवेश गरिसकेको छ ।
वर्ग संघर्षको एक दशकको भीषण क्रान्तिमा नेपाल आमाका हजारौँ होनहार सर्वाेत्तम छोराछोरीले बलिदान गरे । यही बलिदानीपूर्ण इतिहासको सुरुवात गर्ने अवसर प्राप्त गर्नृुभयो सहिद कमरेड दिल बहादुर रम्तेलले । अर्थात् फाल्गुण १४ गतेबाट राज्य हिंसात्मक दमनमा उत्रियो र मान्छे मार्ने अभियानको सुरुवात ग¥यो । जनताले आफ्नो राजनैतिक माग राख्दा राज्य भने भीषण जनदमन र हत्याको योजनामा अघि बढ्यो । हिजोआज महान जनयुद्ध र बलिदानलाई नकारात्मक बहस गर्दै हिँड्नेहरुले यसको जवाफ दिनुपर्दैन ?
यदि जनताको अधिकार स्थापनाको लागि गरिएको क्रान्तिलाई तिमी हिंसा देख्छौ भने हिंसाको हिमायतीको हो ?जवाफ दिनु पर्दैन ? कसले सुरु ग¥यो मान्छे मार्न ?माओवादी पार्टीले २०५२ साल फाल्गुण १ गतेबाट जनयुद्धको सुरुवात गरेको होइन ? १४ गते सम्म केही भएको थियो ? कसले सुरु ग¥यो? कस्ता मान्छेको हत्या गरियो ? राज्यले यसको जवाफ दिनुपर्दैन ? यी र यस्ता हजारौँ प्रश्नको जवाफ अहिलेको सरकार सञ्चालन गर्नेहरुले दिन सक्छन् ? तसर्थ कोही कसैलाई क्रान्तिको विरुद्ध बोल्ने राजनैतिक अधिकार छैन ।
आज दिल बहादुरहरुको रगतबाट प्राप्त उपलब्धिको रसस्वादन गर्ने तर क्रान्तिलाई क्रान्ति मान्न नसक्ने, जनयुद्ध भन्न नसक्ने घोर दक्षिणपन्थी, अवसरवादी, प्रतिगामी शक्तिहरुको भण्डाफोर गर्दै अझै नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन सबै एकीकृत र केन्द्रीकृत हुन जरुरी छ ।
कसरी हत्या गरियो त क. दिल बहादुरको ?
गोरखा जिल्लाको हालको बारपाक सुलिकोट गाउँपालिका वडा नं ८ साबिकको पन्द्रुङ गा.वि.स वडा नं ३ उपल्लो जराङ सपुङ्गे गाउँमा बुबा सेते रम्तेल र आमा सरिमाया रम्तेलको कोखबाट २०४१ साल कार्तिक १४ गते उहाँको जन्म भयो । गरिब दलित परिवारमा जन्मिएका दिल बहादुर गाउँकै श्री ब्रह्मचारिणी निमाविमा आफ्नो शिक्षा प्रारम्भ गर्दै अगाडि बढ्नुभयो । उमेरको क्रमसँगै २०५२ सालमा कक्षा ४ मा पढ्दै गर्दा ११ वर्षको उमेरमा सहादत प्राप्त गर्नुभयो । सबै प्रकारका उत्पीडन र विभेदका विरुद्ध नेकपा (माओवादी) पार्टीले फाल्गुण १ गतेबाट विद्रोहको झण्डा उठाएपछि आम नेपाली जनतामा एउटा आशाको रक्तसञ्चार प्रवाह भइरहेको थियो । सामन्ती राज्यसत्ता, दलाल पुँजीवादी सुदखोरीमाथि विद्रोह केन्द्रित हुँदै जनयुद्ध अगाडि बढाउँदै गर्दा नेपाली समाजमा यसको चर्चा बहसले राम्रै स्थान ग्रहण गर्दै थियो । तत्कालीन राज्यसत्ता सञ्चालन गर्नेहरु आतङ्कित भई आफ्नो लुटको स्वार्थ भत्किने भयो भनेर अत्तालिँदै थिए । राज्यको नजरमा गाउँका किसान, मजदुर, विद्यार्थी, शोषित पीडित जनता सबैलाई माओवादी देख्न थालिसकेको थियो ।
जनयुद्धले राज्यमा एउटा हलचल पैदा गरिसकेको थियो । जनयुद्ध कहाँ कसरी भइरहेको छ भन्ने भेउ नपाउँदै तत्कालीन सरकार जनदमनमा उत्रियो । गाउँ गाउँमा प्रहरीहरु घुम्न थाले ।गरिव जनतालाई आतङ्कित बनाउन थाले । गाउँका किसान, महिला,शिक्षक, विद्यार्थी असुरक्षित बन्न थाले । मान्छेहरु गिरफ्तार गर्ने, झुटा मुद्दा लगाउने काममा राज्य अगाडि बढ्यो । विद्रोहको झिल्को त हो नि यसलाई अन्त्य गर्न सकिन्छ भनेर जनदमनमा उत्रेको सरकार झन् झन् पछि झन् बढ्दोे घटनाक्रमसँगै जनताबाट नाङ्गिँदै गए । यसै क्रममा २०५२ साल फाल्गुण १४ गते गोरखाको ताकुकोट गाउँमा अवस्थित श्री सूर्यज्योति मावि ताकुमा विद्यालय सञ्चालन भइरहेको थियो ।
शान्तिपूर्ण रुपमा कक्षा सञ्चालन भइरहेको बेला विद्यालय हाताभित्र प्रहरी प्रवेश ग¥यो अनि उसले सबै शिक्षक विद्यार्थीलाई माओवादी देख्न थाल्यो र कक्षाकोठामा पढाउँदै गरेका विद्यालयका प्रधानाध्यापक वीर बहादुर गुरुङलाई तँ माओवादी हैनस् भन्दै लछारपछार गर्दै कक्षाकोठाबाट बाहिर निकाले । राज्यको यस्तो बर्बरतापूर्ण व्यवहार आफ्नो आँखाले देखेका शिक्षक विद्यार्थीमाआक्रोश पैदा भयो ।उनीहरु प्रधानाध्याकलाई प्रहरीको पञ्जाबाट छुटाउन तानातान गर्न थाले । प्रतिरोधमा उत्रिए र यतिबेलासम्म गाउँलेले पनि यस घटना थाहा पाए । जनताबाट डराएका उनीहरुले प्रअ वीर बहादुरलाई बाटोबाट पनि नलगी भिरको बाटोे हुँदै सदरमुकाम तिर घिसारे । शिक्षक विद्यार्थी अभिभावक सबै मिलेर आफनो गुरुलाई हतियार धारी प्रहरीबाट मुक्त बनाउने प्रयास गरे । तर विद्यालयबाट उहाँंलाई लगिछाडे । शिक्षक वीर बहादुरलाई जराङ पु¥याइयो ।
जराङमा पनि अभिभावक, ब्रह्मचारिणी निमाविका विद्यार्थी सबैजना मिलेर प्रतिरोध गर्दै शिक्षकलाई छुटाउन ताकुकोटबाट आएका विद्यार्र्थी अभिभावकको हुलमा सहभागी भए । प्रहरी प्रशासन झनै आतङ्कित बन्यो । जनताको प्रतिरोधले डरायो । हतास र आतङ्कित मानसिकतामा रहेको प्रहरीलाई गोली चलाउन आदेश आयो तत्कालीन राज्यसत्ता सञ्चालकहरुबाट र प्रहरीले विद्यार्थीको समुहतिर अन्धाधुन्ध रुपमा गोली चलाउन सुरु ग¥यो । थुप्रै राउण्ड गोली चलाए । विद्यार्थीतिर ताकी ताकी गोली चलाउँदा ब्रह्मचारिणी निमावि कक्षा चारमा पढ्ने दिल बहादुर रम्तेललाई गोली लाग्यो । अर्काे विद्यार्थी राम प्रसाद भट्ट पनि गोली लागी घाइते भए । सरकारको दमनले सीमा नाग्यो । स्कुले विद्यार्थी गोली लागेर ढले । विद्यार्थीलाई गोली हान्दै समूहलाई तितरबितर पार्दै स्थितिलाई भयावह बनाउँदै वीर बहादुर सरलाई लिएर प्रहरी त्यहाँबाट सदरमुकामतिर भागे ।
गोली लागेर छटपटाइरहेका दिल बहादुरलाई गाउँलेहरुले उपचार गर्न गोरखा अस्पतालतिर ल्याउँदै गर्दा साबिक ताप्ले गा.वि.स.को छापथोकमा आइपुग्दा उहाँले सहादत प्राप्त गर्नुभयो र महान जनयुद्धको प्रथम सहिद बन्नुभयो । नरसंहार र दमनबाट जनयुद्धको अन्त्य गर्न चाहने शासकले यो कुरा बुझेनन् । दमनले प्रतिरोध जन्माउँछ र प्रतिरोधले नयाँ चिजको सिर्जना गर्छ । राज्य एकोहोरो दमनमा उत्रियो । दिलबहादुर जस्ता हजारौँ जनताले आफूलाई बलिदान गरे ।लाखौँ जनसमुदाय जनयुद्धमा एकाकार हुँदै आफ्नो अधिकार स्थापित गर्न आन्दोलित भए ।
दमनबाट जनयुद्धको अन्त्य चाहने शासकका विरुद्ध झनै क्रान्ति केन्द्रित भयो र २३७ वर्ष लामो सामन्ती राज्य व्यवस्थाको अन्त्य गर्दै नयाँ राजनैतिक व्यवस्था स्थापना गर्न जनयुद्ध सफल भयो । त्यसैले त जनयुद्ध महान थियो र रहिरहने छ । बलिदानले उच्च राजनैतिक परिवर्तन गरेर आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौँ। समावेशी, समानुपातिक, धर्म निरपेक्ष राज्यको घोषणा गर्न र जनताका महत्वपूर्ण अधिकार स्थापित गर्न जनयुद्धले पहलकदमी लियो । यी सबै उपलब्धि बलिदानको जगमा भयो । तसर्थ क्रान्तिमा बलिदान र बलिदानबाट राजनैतिक व्यवस्था परिर्वतन एक ऐतिहासिक आवश्यकता हो । बलिदान दिवस २०८१ को यस सन्दर्भमा महान जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेललगायत सम्पूर्ण वीर क्रान्तिकारी योद्धाहरुप्रति उच्च सम्मान सहित लाल सलाम ।
लेखक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का गण्डकी प्रदेश सदस्य एवं गोरखा जिल्ला पार्टी सचिव हुनुहन्छ ।