समय परिवर्तनशील छ, समयसँगै सोच, संस्कार र व्यवहार पनि परिवर्तन हुँदै जानु स्वाभाविक हो । तर, यदि हामी बदलिँदो समयसँग तालमेल मिलाउन असफल भयौं भने, हामी आफैं पछाडि परिरहेका हुन्छौं । यस्तै एउटा विषय हो–विवाह, जुन नेपाली समाजमा परम्परागत रूपमा ‘सामाजिक प्रतिष्ठा’ को सूचक मानिँदै आएको छ । तर के अहिले पनि यही सोच उपयुक्त छ ? आजको समाजमा शिक्षा र स्वास्थ्यजस्ता अत्यावश्यक क्षेत्रमा राज्यको सेवा असफल हुँदै गएकाले नागरिकलाई निजी क्षेत्रमा भर पर्न बाध्य बनाएको छ । सरकारी विद्यालय र अस्पतालहरू केही अपवाद बाहेक अधिकांशमा न्यूनतम गुणस्तरसमेत पाउन गाह्रो छ। यसले मध्यम वर्गीय र निम्न आय भएका परिवारहरूलाई शिक्षा तथा स्वास्थ्यमा अत्यधिक खर्च गर्न बाध्य बनाएको छ । यही आर्थिक दबाबबीच एक अर्को ठूलो बोझ थपिन्छ— विवाह ।
परम्परा कि प्रदर्शन?
नेपालमा विवाह केवल दुइ आत्माको मिलन होइन, धेरैजसो अवस्थामा ‘सामाजिक प्रतिस्पर्धा’ को माध्यम बनेको छ । विवाहका नाममा ८/१० तोला सुन, भव्य भोज, महँगा लुगा, सवारी साधनदेखि लिएर सजावटसम्म–यी सबैमा लाखौं खर्च गर्ने परम्परा जस्तै बनिसकेको छ । तर, सबैको आर्थिक अवस्था एउटै हुँदैन । पैसा नभए पनि समाजको दबाबमा परेर विवाह गर्नुपर्ने हुँदा धेरै युवाहरू र परिवारहरू ऋणमा डुबिरहेका छन् । हिजो आफ्नै देशमा बसेर केही गरौं भन्ने सोच भएका युवाहरू विवाहपछिको ऋणको भारीका कारण विदेशिन बाध्य छन् ।
जब विवाह ऋणको कारण बन्छ
आजको वास्तविकता यही हो–विवाह जस्तो पवित्र संस्था अनावश्यक खर्च र समाजको देखावटी मानसिकताका कारण आर्थिक समस्याको जड बन्दै गएको छ । परिणामस्वरूप, युवाहरू देशभित्र रहनुभन्दा वैदेशिक रोजगारीलाई रोज्न थालेका छन् । यो केवल व्यक्तिगत समस्यामात्र होइन, देशको जनसांख्यिक र सामाजिक संरचनाका लागि खतरा हो । एकातर्फ बेरोजगारी, अर्कोतर्फ अत्यधिक खर्चिलो विवाह। यो दोहोरो मारले गर्दा आज नेपाली समाजमा वैवाहिक जीवन सुरुवातको खुसी होइन, संकटको थालनी बन्न थालेको छ।
कल्पना गरौं— यदि हामी विवाहमा खर्च गर्ने ५ लाख, १० लाख रुपैयाँ सीप आधारित व्यवसायमा लगानी गर्यौं भने ? शुरुमा यस्तो कल्पना गर्न कठिन लाग्न सक्छ, किनभने समाज सधैं भिडकै पछि दौडिन्छ । तर परिवर्तन सधैं एक/दुई व्यक्तिबाटै सुरु हुन्छ । ‘कम खर्चिलो, अर्थपूर्ण र विवेकसम्मत विवाह’ संस्कार बन्यो भने न केवल व्यक्तिगत जीवन सहज हुन्छ, बरु सामाजिक र आर्थिक दृष्टिले पनि मुलुकलाई फाइदा पुग्छ । एउटा युवा नेपालमै सीप र व्यवसायमा लाग्न सक्यो भने, उनीसँगै अन्य सदस्यहरूलाई पनि देशमै रोजगारीको सम्भावना बढ्छ।
निष्कर्ष
विवाह खुसीको प्रारम्भ हो, बोझको होइन । अब समय आएको छ–अनावश्यक खर्च कम गर्ने, सीप र व्यवसायमा लगानी गर्ने सोच बनाउने । सस्तो, मर्यादित, आत्मीय र सम्मानजनक विवाहलाई नयाँ सामाजिक संस्कारको रूपमा स्थापना गर्न हामी सबैले सशक्त पहल गर्न जरुरी छ । खर्चिलो विवाहको विकल्प खोजौं–आर्थिक स्वतन्त्रता र पारिवारिक स्थायित्वको मार्ग निर्माण गरौं। ‘परिवर्तन सधैं असहज लाग्छ । तर असहज कुराबाटै नयाँ सम्भावना जन्मिन्छ।’