आजको विश्व नै मानव सभ्यताको इतिहासमा अत्यन्त जटिल र निर्णायक चरणका रूपमा छ । विज्ञान, प्रविधि र विश्वव्यापीकरणले संसारलाई नजिक ल्याएको छ, तर मानिसको मनभित्रको दूरी भने बढिरहेको अवस्था छ । समाजमा असन्तोष, हिंसा, अविश्वास र राजनीतिक अस्थिरता बढिरहेको अवस्थामा एउटा गम्भीर प्रश्न उठ्छ, समस्या वास्तवमा कहाँ छ? के समस्या केवल प्रणालीमा छ, कि मानिसको चेतना, सोच र मनोविज्ञानमा पनि गहिरो जरा गाडेको छ?
न्यूरोसाइन्स (मस्तिष्क विज्ञान) र न्यूरो–लिङ्ग्विस्टिक प्रोग्रामिङ (भाषिक–स्नायविक कार्यक्रम) ले देखाएको कुरा के हो भने समाजमा देखिने धेरैजसो समस्या, आन्दोलन, विद्रोह र परिवर्तनहरू बाह्य संरचनाको मात्र परिणाम होइनन्; ती मानिसको भित्री सोच, विश्वास, भावनात्मक अवस्था र चेतनाको स्तरसँग गहिरो रूपमा जोडिएका हुन्छन् । जब मानिसको मन निराशा, अन्यायको अनुभूति र भविष्यप्रतिको डरले भरिन्छ, त्यही भावना समाजमा आन्दोलन र अस्थिरताका रूपमा प्रकट हुन्छ ।
मानिसको अस्तित्वलाई बुझ्न चारवटा प्रमुख आयामको कुरा गर्न सकिन्छ, दिमाग, मन, चेतना र आत्म । दिमाग भनेको हाम्रो शरीरभित्रको भौतिक अङ्ग हो, जसले स्नायविक सञ्जालमार्फत सूचनाहरू प्रशोधन गर्छ । यसले स्मृति, निर्णय, भावना र व्यवहारलाई नियन्त्रण गर्छ । तर मन भनेको दिमागमा चल्ने सोच, कल्पना, भावना र अनुभवहरूको प्रवाह हो । मन देखिँदैन, तर यसले मानिसको जीवनलाई दिशा दिन्छ ।
आत्म भनेको मानिसको गहिरो पहिचान, मूल्य र अस्तित्वको अनुभूति हो । मानिसले “म को हुँ?” भन्ने प्रश्नको उत्तर खोज्दा, त्यो आत्मको स्तरमा पुग्छ । चेतना भनेको यी सबै प्रक्रियालाई अनुभव गर्ने, बुझ्ने र अर्थ दिने शक्ति हो । चेतना नै त्यो प्रकाश हो, जसले मनका विचारहरू, दिमागका प्रक्रियाहरू र आत्मको अनुभूतिलाई उजागर गर्छ ।
न्यूरोसाइन्सले देखाउँछ कि मानिसको व्यवहार मुख्यतः दिमागका विभिन्न भागहरूको अन्तरक्रियाबाट निर्धारण हुन्छ । उदाहरणका लागि, दिमागको एमिग्डाला (भावनात्मक केन्द्र) डर, क्रोध र खतरा पहिचान गर्ने भाग हो । जब मानिसले अन्याय, अपमान वा असुरक्षाको अनुभव गर्छ, एमिग्डाला सक्रिय हुन्छ र मानिस भावनात्मक प्रतिक्रिया दिन थाल्छ । यस्तो अवस्थामा दिमागको प्रिफ्रन्टल कोर्टेक्स (निर्णय र विवेक केन्द्र) कम सक्रिय हुन सक्छ, जसले मानिसलाई सोचेर निर्णय गर्ने क्षमता कमजोर बनाउँछ ।
यसको अर्थ, जब समाजमा निरन्तर तनाव, अन्याय र असमानताको वातावरण हुन्छ, मानिसको सामूहिक व्यवहार पनि भावनात्मक र प्रतिक्रियात्मक हुन सक्छ । यही अवस्था लामो समयसम्म रहँदा समाजमा आन्दोलन, हिंसा र राजनीतिक अस्थिरताको सम्भावना बढ्छ ।
हालका वर्षहरूमा देखिएका युवा–केन्द्रित आन्दोलनहरू, विशेषगरी नयाँपुस्ता (जेन–जी) आन्दोलन, त्यसैको उदाहरणका रूपमा देख्न सकिन्छ । उपलब्ध तथ्याङ्क अनुसार, हालैको आन्दोलनमा ७८ जना युवाहरूले ज्यान गुमाएका छन्, धेरै सार्वजनिक र निजी सम्पत्तिहरू नष्ट भएका छन्, र थुप्रै परिवार शोक र पीडामा परेका छन् । यो केवल एउटा आन्दोलनको घटना मात्र होइन; यो समाजको चेतनामा आएको संकटको संकेत पनि हो ।
प्रश्न उठ्छ, किन युवाहरू यति आक्रोशित भए? किन उनीहरूको ऊर्जा सिर्जनात्मक परिवर्तनतर्फ होइन, विनाशतर्फ मोडियो?
सामाजिक अध्ययनहरूले देखाएका छन् कि युवाहरूमा असन्तोषका प्रमुख कारणहरू बेरोजगारी, अवसरको अभाव, असमानता, भ्रष्टाचार, नेतृत्वप्रतिको अविश्वास र भविष्यप्रतिको निराशा हुन् । जब युवाले बारम्बार अन्याय र असफलताको अनुभव गर्छन्, उनीहरूको मनमा एउटा विश्वास बस्छ, “यो देशमा हाम्रो भविष्य छैन।” न्यूरो–लिङ्ग्विस्टिक प्रोग्रामिङका अनुसार, यस्तो विश्वासलाई लिमिटिङ बिलिफ (सीमित गर्ने विश्वास) भनिन्छ ।
जब यस्तो विश्वास दिमागमा गहिरो रूपमा बस्छ, मानिसको व्यवहार पनि त्यसैअनुसार बदलिन्छ । उनीहरू सोच्न थाल्छन् कि शान्तिपूर्ण प्रयासले केही हुँदैन, र हिंसात्मक वा आक्रामक उपायहरू नै परिवर्तनको बाटो हुन् । यही सोचले आन्दोलनहरूलाई विनाशतर्फ धकेल्न सक्छ ।
तर विज्ञानले एउटा महत्वपूर्ण कुरा पनि देखाएको छ, मानिसको दिमाग स्थिर छैन; यो परिवर्तनशील छ । यसलाई न्यूरोप्लास्टिसिटी भनिन्छ । यसको अर्थ, सही वातावरण, शिक्षा, प्रेरणा र अवसरहरू पाएमा मानिसको सोच, विश्वास र व्यवहार परिवर्तन हुन सक्छ ।
यदि युवाहरूलाई नेतृत्व विकास, सीप, रोजगारी, उद्यमशीलता र नीतिनिर्माणमा सहभागिताका अवसरहरू दिइयो भने, उनीहरूको ऊर्जा विनाश होइन, निर्माणतर्फ मोडिन्छ । यही कारणले विश्वका धेरै देशहरूले युवालाई राष्ट्रनिर्माणको केन्द्रमा राखेर नीति बनाएका छन् ।
न्यूरोसाइन्सका अध्ययनहरूले देखाएका छन् कि जब मानिसले उद्देश्यपूर्ण जीवन पाउँछ, दिमागमा डोपामिन (प्रेरणासम्बन्धी रसायन) बढ्छ । यसले आशा, उत्साह र सकारात्मक व्यवहार बढाउँछ । तर जब मानिस निरन्तर तनाव, अपमान र असफलताको अनुभव गर्छ, दिमागमा कोर्टिसोल (तनाव रसायन) बढ्छ, जसले आक्रोश, डर र हिंसात्मक सोच बढाउन सक्छ ।
यसैले युवाको मानसिक अवस्था र सामाजिक वातावरणबीच गहिरो सम्बन्ध हुन्छ । यदि समाजले युवालाई अवसर, सम्मान र उद्देश्य दिन सकेन भने, उनीहरूको चेतना निराशा र विद्रोहतर्फ मोडिन सक्छ ।
जेन्जी आन्दोलन जस्ता घटनाहरूलाई केवल राजनीतिक वा कानुनी दृष्टिले मात्र होइन, चेतनाको संकटका रूपमा बुझ्न आवश्यक छ । जब युवाहरूको मनमा आशा भन्दा निराशा, विश्वास भन्दा अविश्वास, र उद्देश्य भन्दा भ्रम बढी हुन्छ, तब समाज अस्थिर हुन्छ ।
यस अवस्थामा सबैभन्दा ठूलो जिम्मेवारी राजनीतिक नेतृत्व र नीतिनिर्माताहरूको हुन्छ । यदि राजनीति केवल शक्ति, पद र व्यक्तिगत स्वार्थमा सीमित भयो भने, युवाहरूमा निराशा बढ्छ । तर यदि राजनीति दृष्टि, मूल्य र अवसरको माध्यम बन्यो भने, त्यही युवाहरू राष्ट्रको सबैभन्दा ठूलो शक्ति बन्न सक्छन् ।
राष्ट्रनिर्माणको इतिहास हेर्दा, संसारका धेरै देशहरू युवाको ऊर्जा र नेतृत्वबाटै अघि बढेका छन्। जब युवालाई अवसर, शिक्षा, सीप र नेतृत्वको जिम्मेवारी दिइयो, ती देशहरूले आर्थिक, सामाजिक र राजनीतिक रूपमा ठूलो प्रगति गरेका छन् ।
तर जब युवालाई केवल आन्दोलन, नाराबाजी र राजनीतिक स्वार्थका लागि प्रयोग गरियो, त्यहाँ हिंसा, अस्थिरता र विकासको अवरोध देखिएको छ । इतिहासले बारम्बार देखाएको सत्य यही होकि युवा ऊर्जा या त राष्ट्र निर्माणको शक्ति बन्छ, या विनाशको कारण ।
न्यूरो–लिङ्ग्विस्टिक प्रोग्रामिङले एउटा महत्वपूर्ण सिद्धान्त प्रस्तुत गरेको छ, मानिसको व्यवहार उसको भित्री नक्सा अनुसार चल्छ । यदि युवाको भित्री नक्सामा “म यो देशको परिवर्तनकर्ता हुँ” भन्ने सोच बस्यो भने, उनीहरू सिर्जनात्मक काममा लाग्छन् । तर यदि त्यो नक्सामा “यो देशले मलाई केही दिन सक्दैन” भन्ने सोच बस्यो भने, उनीहरू या त विद्रोह गर्छन्, या देश छोडेर जान्छन् ।
आज नेपालजस्ता देशहरूमा ठूलो चुनौती भनेको युवाको पलायन पनि हो । हजारौँ युवाहरू विदेश जाने सपना बोकेर देश छोडिरहेका छन् । यसको कारण केवल आर्थिक मात्र होइन; त्यो मनोवैज्ञानिक र चेतनात्मक समस्या पनि हो । जब युवाले आफ्नो देशमा भविष्य देख्दैनन्, उनीहरूको मन देशभक्त र देशप्रमसँग जोडिँदैन ।
यसैले राष्ट्रनिर्माणको सबैभन्दा ठूलो आधार केवल भौतिक विकास मात्र होइन; त्यो युवाको चेतनाको विकास हो । युवाको मनमा आशा, उद्देश्य र नेतृत्वको भावना जागृत भयो भने, उनीहरू देशभित्रै परिवर्तनका अगुवा बन्न सक्छन् ।
यसका लागि केही आधारभूत नीतिगत दिशाहरू आवश्यक छन् । पहिलो, युवालाई गुणस्तरीय शिक्षा र सीप विकासका अवसरहरू दिनु । दोस्रो, उद्यमशीलता र रोजगारीका कार्यक्रमहरू विस्तार गर्न ु। तेस्रो, युवालाई स्थानीयदेखि राष्ट्रिय स्तरसम्मको नीतिनिर्माण प्रक्रियामा सहभागी गराउनु । चौथो, मानसिक स्वास्थ्य, आत्मसम्मान र नेतृत्व विकासका कार्यक्रमहरू सञ्चालन गर्नु ।
यदि यी उपायहरू अपनाइएनन् भने, जेन्जी जस्ता घटनाहरू भविष्यमा पनि दोहोरिन सक्छन् । युवापुस्ताको यो आवाजलाई “यी उरन्ठेउला, हिजाका बच्चा हामी वर्षौसम्म राजनीति गरेर अनुभव भएकासँग जोरी खोज्ने भन्ने मानसिकताले उनीहरुलाई दबाउने गरियो वा भदौ २३ गते झै गोली ठोकेर कलिला बालबालिकाको हत्या गर्ने जस्ता कुचेष्टा फेरि पनि गरियो भने त्यो बेला उपलब्ध भएको हेलिकप्टर अब आउने अवस्था नहुन सक्छ भन्ने कुरा बुझ्न आवश्यक छ । अब युवाको भावनालाई बुझेर उनीहरुलार्ई सही दिशा, अवसर र नेतृत्वको भूमिका दिइयो भने, त्यही ऊर्जा राष्ट्रलाई नयाँ उचाइमा पु¥याउन सक्छ ।
अन्ततः राष्ट्रको भविष्य कुनै भवन, सडक वा नीतिमा मात्र हुँदैन; त्यो युवाको मन, दिमाग र चेतनामा बस्छ । जब युवाको चेतना जाग्छ, तब राष्ट्र पनि जाग्छ । जब युवाको सोच सकारात्मक हुन्छ, तब समाज पनि सकारात्मक बन्छ ।
त्यसैले आजको सबैभन्दा ठूलो राजनीतिक र सामाजिक कार्य भनेको युवाको चेतनालाई निर्माण गर्नु हो, उनीहरूलाई प्रयोग गर्ने होइन, सशक्त बनाउने; उनीहरूलाई नियन्त्रण गर्ने होइन, नेतृत्व दिने; उनीहरूलाई निराश बनाउने होइन, उद्देश्यपूर्ण जीवनतर्फ डोरÞ्याउने ।
यदि हामीले यो पाठ बुझ्यौं भने, विगतका पीडादायी घटनाहरू भविष्यका प्रेरणादायी कथाहरूमा बदलिन सक्छन् । तर यदि हामीले चेतनाको यो विज्ञानलाई बेवास्ता ग¥यौं भने, इतिहासले फेरि उही पीडा दोहोर्याउन सक्छ । सन्दर्भ यही २०८२ साल फागुन २१ गतेको आम निर्वाचनको । सबैले युवा जमातलाई र युवाले नेतृत्व गरेको नयाँ सोचलाई आफ्नो अमूल्य मत दिन आवश्यक छ । भोट एक दिनको त्यो क्षण हो तर विवेकपूर्ण दिएको भोट राष्ट्रनिार्माणको महत्वपूर्ण निर्णय हो भन्ने कुरा सबैले बुझ्न आवश्इक छ ।
धन्यबाद ।